‘स्मार्ट सिटी’को श्रीगणेश ट्याक्सीमार्फत गर्ने की मेयरज्यू !

Share:

रेम बिक

‘दाइ, खाली हो ? पृथ्वीचोक जाऊँ न ।’

यति भनिसकेपछि ट्याक्सीवाला दाइले यसो पुलुक्क हेरे । अनि भने, ‘२ सय ५० लाग्छ है ।’

महेन्द्रपुलबाट पृथ्वीचोक पुगेको २५० रुपैयाँ । यो मेरो मथिंगल हल्लाउनका लागि काफि थियो ।

‘मिटरमा जाऔँ, ५ सय नै आएनी दिउँला नी हुन्न ?’, मैले प्रस्ताव गरेँ ।

‘तपाई कुन जमानामा हुनुहुन्छ भाइ ? अहिले पनि कहिँ मिटर चल्छ त ? म त जान्न मिटरमा । अर्को कुनै गाडीलाई भन्नुस् ।’ ट्याक्सीवाला तर्किए ।

‘अनि अहिले त झन् ट्याक्सीहरुले पोखरामा मिटरमै चल्नुपर्छ हैन र ?, समाचारमा आएको थियो त दुईचार दिन अगाडि मात्रै ।’ मैले भने ।

‘पत्रकारले त जे पनि लेख्छ नी । हामीलाई व्यवसाय गर्न कति गाह«ो छ । पत्रकारले लेख्दैमा र प्रशासनले भन्यो भन्दैमा पेटमा लात्ता हान्ने कुरा त भएन नी भाइ ।’ ट्याक्सीवाला मान्नेवालामा थिएनन् । मैले खासगरि आफूलाई पत्रकार भनेर चिनाउँदिन । विशेषगरि कुनै लाभ उठाउने सन्दर्भमा ।

खोई किन हो कुन्नी उनले साह«ै टेढो उत्तर फर्काईराखेका थिए । सवालजवाफ गरिरहन मन लागेन । अलिक तल गएँ, ट्याक्सी रोकेँ ।

‘मिटरमा जान्छ होला नी ।’ मैले सोँधे ।

‘मिटरमा त अलि मर्कै पर्छ भाइ, मिलाएर जाऊँ न ।’ ट्याक्सी ड्राइभरले विकल्प अगाडि सारे ।

ठिकै छ, आफूलाई नगई भाको छैन । अघिल्लो ट्याक्सी ड्राइभर भन्दा पछिल्ला यी चाँहीको हस्पिटालिटीले मलाई छोयो । ट्याक्सी चढेँ र पृथ्वीचोकको यात्रा तय गरेँ । महेन्द्रपुलदेखि पृथ्वीचोक पुग्दासम्म ती दाइसँग थोरै बातचित भयो ।

‘मिटरमा हिँड्न किन नखोजेको दाइ, यो त नियमविपरित कुरा हो नी ।’ मैले कुराको शुरुवात गरेँ ।

‘के गर्ने भाइ, सबै कुराको मूल्य बढ्यो, हामी ट्याक्सीवालाहरुको मिटरको मूल्य कहिल्यै बढेन । अब पहिलाकै दरमा मिटर चलाउने हो भने हामी मर्कामा पर्छौँ । मिटर चलाउने नै हो भने पनि सरकारले मूल्य समायोजन त गरिदिनुप¥यो नी । हाम्रा नी परिवार, बालबच्चा छन, पाल्नुपर्छ । समयमा किस्ता नबुझाए बैंकले फाइन हान्न शुरु गरिहाल्छ । गाह«ो छ भाइ ।’ उनले दुखेसो पोखे ।

उनले एकादुई ट्याक्सीवालाले जथाभावी भाडा उठाउने गरेकाले सबै व्यवसायीहरु बद्नाम हुन परेको बताए । ‘पैसा कमाउने हो भन्दैमा मनलाग्दी गरेका छन् । हामी सोझो हिसाबले काम गर्नेलाई समस्यामा पारेका छन् । सरकारले मिटर समायोजन गरेर अनिवार्य मिटरमा चल्न बाध्यकारी नियम ल्याएमात्रै व्यवसायी र यात्रुलाई नै फाइदा हुनेथियो ।’ उनले विकल्प सुनाए ।

यतिञ्जेल पृथ्वीचोक म जानुपर्ने ठाऊँ करिब आईसकेको थियो । मैले पैसा दिएँ र झरेँ ।

अक्सर कतै जाँदा ट्याक्सी प्रयोग गर्नुपरेको खण्डमा मेरी श्रीमतीले मलाई ट्याक्सीवालासँग कुरा गर्नै दिँन्नन् भन्दा पनि हुन्छ । कारण, छोटो दुरीमा पनि मनलाग्दी तरिकाले भाडा भन्छन् । जुन भाडाको कुरा सुन्ने बित्तिकै म मा रिसको पारो छुट्छ । झगडै हुन्छ । नेपालको भद्रगोल सिस्टम घरबाट निस्किएर ट्याक्सी वा बस चढ्दा छर्लङ्ग देख्न पाईन्छ । आफूलाई भने उनीहरुको बोली अनि व्यवहार देखेर असह्य हुन्छ । जवाफ फर्काउन मन लाग्छ । अनि सवालजवाफमा यातायात लाइनमा काम गर्नेहरुसँग के सकिन्थ्यो । रिसको पारो उम्लिएर आउँछ । अनि त झगडा नभएर के होस् । त्यै भएर कतै हिँड्दा श्रीमतीले नै यो विषयमा कुरा गर्छिन् । आफू चुपचाप बसेर सहन बाध्य भईन्छ ।

हिजो पत्रकार दीननाथ बरालमाथि ट्याक्सीवालाले जुन व्यवहार देखाए त्यो खेदपुर्ण थियो । अझै केहि दिन अगाडि एउटा विरामीलाई बाटोमा अलपत्र छाडेर भाग्ने ट्याक्सीवालाको मानवियतालाई त झन् जति धिक्कारे पनि कम हुन्छ । काठमाण्डौ, पोखरा जस्ता ठुला शहरमा ट्याक्सी चलाउँदै आएका व्यवसायी र चालकहरु साँच्ची आफूले आफैलाई निकै विशिष्ट सोँच्छन् । यात्रुलाई सेवा दिने र त्यही सेवा दिएबापत एउटा मापदण्डमा पैसा लिने उनीहरुको खास काम हो । तर, यात्रुलाई सेवा दिन होइन, बरु लुट्न बसेको हो भन्ने उनीहरुको दिमागमा घुसेको छ ।

यसो भनिरहँदा मैले सबै व्यवसायी र चालकहरु उस्तै हुन् भन्न खोजेको पक्कै होईन । पोखरामै एउटा यस्तो ट्याक्सी छ ग १ प ४९०९ । जसले यसअघि भूकम्प पीडितलाई निशुल्क सेवा दियो । अहिले वृद्धवृद्धा र नेत्रहिनका लागि सेवा दिने उद्घोषसहित हिँडेको छ । बिग खबर डटकममा केहि दिन अगाडि यो ट्याक्सी सम्बन्धि फिचर समाचार प्रकाशित पनि भएको थियो ।

तर धेरैभन्दा धेरै चालक र व्यवसायीहरु भने कसरी हुन्छ बढि भन्दा बढि कमाऊँ भन्नेमै छन् । यस्तो मानसिकतासहित व्यापार गर्न आउने मान्छेको व्यवहार पनि त्यस्तै हुने निश्चित नै भयो । यो मानसिकता दिनप्रतिदिन झन् बढेको देखिन्छ । यो निकै घातक सँकेत हो ।

कमजोरी :

कमजोरी चालक र व्यवसायीहरुको मात्रै होईन । नीति नियम बनाउने सरोकारवालाको पनि हो । र, त्यो नियमलाई कार्यान्वयनमा ल्याउने पक्षको पनि यो सवालमा कमजोरी देखिन्छ ।

मिटरमा ट्याक्सी चलाउने बाध्यकारी नियम लगाउँछ प्रशासन । ट्याक्सीवालाले मिटर पनि चलाउँछन्, तर देखाउनलाई मात्रै । नियम कार्यान्वयन भए÷नभएको हेर्ने ट्राफिक प्रहरीले मिटर हेर्छ, चलेको देख्छ । होईन, उसले त्यस्तो नदेखेपनि सेटिङ गर्छ । धेरथोर पैसा माग्छ अनि ट्याक्सीवालालाई निर्वाध लुट्न छुट प्रदान गर्छ ।

यहाँ कोहि पनि नियमभित्र रहेर काम गर्दैन । त्यसैले भद्रगोल देखिन्छ । यदि नियममा रहेर सबैले काम गर्ने हो भने यो समस्या यत्तिकै समाधान भैहाल्छ । प्रशासनले व्यवसायीहरुको हित हुने गरि मिटरको समायोजन गर्नुप¥यो । व्यवसायी मिटरमा चल्न तयार हुनुप¥यो । ट्राफिक र यातायात कार्यालयले उचित अनुगमन गर्नुप¥यो । अनि बल्ल पो यात्रुलाई सास्ती हुँदैन । नत्र त यो यस्तै हो ।

विकल्प :

त्यसो त पोखरा महानगरलाई स्मार्ट सिटी बनाउने अभियान यहाँको मेयरको छ । र, यो अभियानलाई सार्थकता दिन उनले सरोकारवाला निकायहरुसँग छलफल पनि पक्कै गरेका होलान् । पोखरालाई स्मार्ट बनाउन यहाँ चल्ने ट्याक्सीहरुमार्फत शुरु गर्दा कसो होला ? एक पटक सोँच्ने कि मेयरज्यू ।

एउटा जिम्मेवार पदमा बसेर सम्बन्धित सरोकारवालाहरुसँग हजुरले यो विषयमा छलफल गर्दा महानगरका लागि राम्रै हुनेथियो । अहिले प्रविधिले यो कुरालाई अझै बढि सजिलो बनाएको छ ।

विदेशमा एउटा एपको मार्फतबाट आफूलाई कुन ठाऊँदेखि कतासम्म जाने भन्ने जानकारीसहित पैसा पनि बैंकमार्फत सोझै पठाउन सकिने व्यवस्था हुन्छ । त्यसैगरि त्यस्तै एउटा एपको विकास गरेर सबै महानगरका ट्याक्सीहरुलाई त्यसैमार्फत स्मार्ट तरिकाले संचालन गर्न सकिन्छ ।

यसो गर्दा यात्रुलाई सबैभन्दा बढि लाभ हुन्छ । ठगिने डर हुँदैन । एपमार्फत सोझै कारोबार समेत हुने भएपछि व्यवसायीलाई करको दायरामा लिन पनि सजिलो । यो सबै हिसाबले गतिलो उपाय हुन सक्छ । यसका लागि सम्बन्धित व्यवसायी संघसंस्था र सरोकारवालाहरुलाई एक ठाऊँमा ल्याएर महानगरले किन काम नगर्ने ?

विदेशी र घरेलु पर्यटकहरु अत्याधिक आउने पोखरामा यसो गर्न सके यहाँको हस्पिटालिटीको अझै बढि चर्चा हुने निश्चित छ ।

कमेन्ट गर्नुहोस्
Share: