पोखरामा राष्ट्रिय लोक नृत्य कार्यशालाः कस्ता छन् नेपालका लोक नृत्यहरु ?

Share:

रेम बिक
पोखरा, २१ चैत । पोखरामा पाँच दिने ‘राष्ट्रिय लोक नृत्य कार्यशाला’ हुने भएको छ । अनुशीलन कला पाठशालाले साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)सँगको सहकार्यमा विभिन्न लोपोन्मुख साँस्कृतिक नृत्यको कार्यशाला गर्न लागेको हो ।

कार्यशाला चैत २२ गतेदेखि शुरु हुने अनुशीलन कला पाठशालाले जनाएको छ । ‘नेपालका विभिन्न भेगमा विभिन्न जातजाति र समुदायमा नाचिने नृत्यहरुको विषयमा यो कार्यशालामा छलफल हुनेछ ।’ अनुशीलन कला पाठशालाका संचालक गोरे गुरुङले भने–‘कार्यशालाका लागि देशव्यापी आह्वान गरिएको र पुर्वदेखि पश्चिम नेपालका विभिन्न जाति र समुदायका नृत्य विज्ञहरु यसमा सहभागी हुँदैछन् ।’

कार्यशालामा नेपालका विभिन्न स्थानका ६० जना भन्दा बढि नृत्य विज्ञहरुको सहभागिता हुने गुरुङले जानकारी दिए । ‘पुराना र लोपोन्मुख नृत्यहरु जसले नेपालका विभिन्न समुदाय, क्षेत्र र जातजातिको प्रतिनीधित्व गर्छन । त्यस्ता नृत्यहरुको बारेमा जान्ने मौका पनि यो कार्यशालाले दिनेछ ।’ उनले भने–‘त्यो बाहेक यो कार्यशालाले त्यस्ता लोपोन्मुख नृत्यहरुको दस्ताबेजिकरण गर्ने काम पनि गर्नेछ ।’

अनुशीलन कला पाठशालाको अनुसार यस्तो प्रकृतिको कार्यशाला नेपालमा अहिलेसम्म हुन सकेको थिएन । त्यसैले यो ऐतिहासिक कार्य पनि हो । र, नृत्य विधामा अध्ययन गरिरहेका अध्ययेताहरुका लागि यो कार्यशालाले अझै बढि सजिलो बनाउने आयोजकको विश्वास छ । पुराना र लोपोन्मुख नृत्य विधाहरुको संरक्षण पनि यो कार्यशालाको अर्को उद्देश्य हो ।

पाँच दिने कार्यशालामा ४८ वटा नृत्य सम्बन्धि सम्बन्धित विज्ञहरुले जानकारी दिनेछन् । ती नृत्यहरुको ईतिहास, नाच्ने शैली र अहिलको अवस्थाको विषयमा कार्यशालामा छलफल हुनेछ । ‘यसो गर्दा पुराना, नामै नसुनेका र लोपोन्मुख अवस्थामा रहेका नृत्य विधाहरुलाई पनि मुलधारमा ल्याउन सकिनेछ । र, त्यस्ता नृत्यहरुको संरक्षणसँगै विश्वबजारमा बजारिकरण गर्न यो कार्यशालाले सघाउनेछ ।’ कार्यक्रम सँयोजक समेत रहेका अनुशीलन कला पाठशालाका संचालक गोरे गुरुङले दाबी गरे ।

भिडियो र प्राक्टिकल शैलीमा कार्यशाला हुनेछ । लोक नृत्यसम्बन्धि पुस्तकहरु लेखिएको भएपनि नृत्यलाई स्टेजमा प्रस्तुत गर्न कठिन हुने गरेको छ । त्यसैले यो पटक फरक शैलीले दस्तावेज जम्मा पारिने भएको हो ।

पाँच दिने कार्यशालाका लागि यतिबेला विभिन्न ठाऊँबाट नृत्य सम्बन्धि विज्ञहरु पोखरा आईसकेका छन् । गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले यो कार्यशालाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: