घोडेपानी जोड्न पर्वतको आम्बोटबाट नयाँ पदमार्ग

Share:

पर्वत । प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्न पर्वतको आम्बोटबाट नयाँ पदमार्ग निर्माण शुरु गरिएको छ। पर्वतको कुश्मा नगरपालिका–३ आम्बोटदेखि दुर्लुङ, महभीर हुँदै घोडेपानी जाने नयाँ पदमार्ग निर्माण शुरु गरिएको हो।

हाल कास्कीको वीरेठाँटी र म्याग्दीबाट घोडेपानी जाने गरिए पनि यो पदमार्ग निर्माणपछि घोडेपानी हुँदै अन्नपूर्ण ‘राउन्ड’ लगाउन सकिने भएको छ। नयाँ पदमार्गको पर्वतका सांसद पदम गिरीले शिलान्यास गरेका छन्।

कुश्मा–३ भारतीगाउँमा आयोजित कार्यक्रममा गिरीले पदमार्गको शिलान्यास गरेका हुन्। नयाँ पदमार्ग आम्बोटबाट शुरु हुनेछ। पोखराबाट साढे एक घण्टामा आम्बोट पुगिन्छ। आम्बोटबाट एक घण्टा ३० मिनेट पैदल हिँडेपछि क्यानोनिङस्थल पुग्न सकिन्छ।

क्यानोनिङबाट ३० मिनेटको दूरीमा आकर्षक घरवास पनि सञ्चालनमा ल्याइएको छ। क्यानोनिङसम्म सवारी साधनमा जान पनि सकिन्छ तर पैदल जान चाहने पर्यटकका लागि नयाँ पदमार्ग निर्माण शुरु गरिएको हो।

यो पदमार्गमा केन्द्र सरकारको पर्यटन मन्त्रालयबाट चालू आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको छ। चालू आर्थिक वर्षमा यो रकमले तीन हजार ५०० मिटर पदमार्ग निर्माण गर्ने तयारी गरिएको छ।

नयाँ पदमार्ग निर्माण भएपछि दुर्लुङमा पर्यटनको सङ्ख्यामा वृद्धि हुने र गाउँको आर्थिक समृद्धिका साथै रोजगारीमा समेत सघाउ पुग्ने विश्वास लिइएको छ ।

दुर्लुङमा गत वर्षदेखि महभीर छहरामा क्यानोनिङ शुरु गरिएको छ । क्यानोनिङमा आन्तरिक तथा बाह्य पर्यटक बढाउन नयाँ पदमार्ग निर्माण गरिएको हो।

कमेन्ट गर्नुहोस्
Share: