बाग्लुङका व्यावसायिक किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री

Share:

बाग्लुङ। बाग्लुङको गलकोट नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ । व्यावसायिक कृषि गर्ने किसानलाई प्लाष्टिक घर (टनेल), मौरीघार र बिउ राख्ने भकारी अनुदानमा वितरण गरेको हो ।

नगरपालिकाभित्रका ११ वटै वडामा गरी २३६ किसानलाई प्लाष्टिक घर (टनेल) प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

कूल रु चार हजार ८०० मूल्यको ‘टनेल’ किसानलाई रु दुई हजार ४०० मा उपलब्ध गराइएको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।

वडाबाट आएका माग र सिफारिशका आधारमा किसानलाई अनुदान दिइएको हो । अन्नबालीको बीउ राख्न चाहिने भकारीमा ४७ किसानले अनुदान पाएका छन् । रु १३ हजार मूल्य पर्ने भकारी किसानले रु छ हजार ५०० मा पाएका छन् ।

यस्तै नगरभित्रका १२५ किसानले मौरीघारमा अनुदान पाएका छन् । रु तीन ४५० पर्ने घार किसानलाई रु एक ७२५ मा उपलब्ध गराइएको हो ।

नगरपालिकाको कृषि तथा पशु सेवा शाखाका अनुसार झण्डै रु २० लाखको कृषि सामग्री ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको हो ।

“कृषिको व्यावसायिकरणमा हाम्रो जोड छ” नगरप्रमुख गैरेले भने, “कृषि र पशुपालनमा लगानी र अनुदान अझ बढ्छ ।” कृषिको अनुदान दुरुपयोग हुने र प्रतिफल नआउने प्रवृत्ति रोक्न अनुगमनलाई प्रभावकारी बनाउने योजना रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: