
पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा १६ औं फेवा नव बर्ष महोत्सव २०७६ सुरु भएको छ । महोत्सव आइतबारसम्म चल्ने छ । संस्कृति, खाना र संगीतलाई केन्द्रित गरी आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
मुख्यमन्त्री गुरुङले प्राकृतिक र सांस्कृतिक रुपमा धनी पोखरालाई स्वर्गजस्तो शहर बनाउन जरुरी रहेको बताए । पोखरामा एक हजार भन्दा बढी जना अट्न सक्ने ठूलो क्षमताको सभाकक्ष आबश्यकता भएको भन्दै उनले पोखरा क्षेत्रमा धेरै शैया भएको ठूलो अस्पतालको समेत जरुरत परेको भनाई राखे ।
लेखनाथको पचभैयामा चिडियाखाना निर्माण, पोखरामा दुई आधुनिक बसपार्कको विकास, दुई बर्ष भित्रमा पोखरा–कोरला मार्ग कालोपत्रे गर्ने र प्रदेशस्तरीय बहुसांस्कृतिक ग्रामको निर्माण गर्ने जस्ता शोच र कामहरु समेत प्रदेश सरकारले अगाडि बढाउन लागेको सो अवसरमा मुख्यमन्त्रीले सुनाए । फेवा तालको संरक्षणको लागि १० करोड रुपैयाँ प्रदेश सरकारले छुट्याएको भन्दै उनले दुई बर्ष भित्र पोखरामा नयाँ विमानस्थल निर्माण कार्य सकिने र त्यसले प्रदेशको समृद्धिमा बल पुर्याउने भनाई राखे ।
गण्डकी प्रदेशका सांसद राजीव पहारीले फेवा ताल लगायतका तालको संरक्षणप्रति आफ्नो विशेष चासो रहेको स्मरण गराउँदै लेकसाइडलाई २४ घण्टा नै खुलाउने विषयमा छलफल आबश्यक रहेको भनाई राखे । लेकसाइड मात्र पर्यटकीय क्षेत्र होइन भन्दै उनले समग्र गण्डकी प्रदेश नै पर्यटकीय क्षेत्र भएको भनाई राखे । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले पोखरा काठमाडौं जोड्ने पृथ्वीराजमार्गलाई ४ लेनको बनाउन जरुरी रहेको भनाई राखे ।
सो अवसरमा पोखरा महानगर वडा नम्बर ६ का अध्यक्ष जगतबहादुर पहारी, प्रगतिशिल आमा समूहकी अध्यक्ष विष्णु केसी र नेपाल पत्रकार महासंघ कास्कीका सभापति दिपेन्द्र श्रेष्ठले पनि भनाई राखेका थिए । कार्यक्रमका अवसरमा होटल संघद्वारा प्रकाशित टेवल क्यालेण्डर विमोचन गरिएको थियो ।
संघका अध्यक्ष विकल तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक लक्ष्मण सुबेदीले धन्यवाद ज्ञापन र संघका महासचिव गणेशराज पहारीले सञ्चालन गरेका थिए । उद्घाटनका अवसरमा आयोजित झाँकी प्रतियोगितामा कूल ३६ समूहले प्रतिस्पर्धा गरेका थिए । महोत्सवकै अवसरमा गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता पनि आयोजना गरिने छ ।
महिलाहरुले बहिष्कार गरिदिए
फेवा महोत्सवको उद्घाटन समारोह नै महिलाहरुले बहिष्कार गरिदिए । मुख्यमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रममा उनकै अगाडि मञ्चबाटै महिलाहरुले बहिष्कार गर्ने उद्घोष गर्दै असन्तुष्टि जनाए । दुई दर्जन सिटमा सबै पुरुष अनुहार थिए, स्टेजमा महिला उपस्थिति शुन्य थियो ।
