प्रधानमन्त्री निवासमा एक करोडको सिसिक्यामरा

Share:

काठमाडौँ । सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ ।

यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा जडानमा खर्च भएको हो । चैतमा मात्र अर्थ मन्त्रालयले आठ अर्ब ८४ करोड ८१ लाख रकमान्तर गरेको छ ।

त्यसमध्ये प्रधानमन्त्रीनिवासमा सिसिक्यामरा जडानका लागि एक करोड रकमान्तर भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यसबाहेक विभिन्न सडक आयोजनाका नाममा बढी रकम रकमान्तर भएको हो ।

अर्थ मन्त्रालय बजेट खर्च बढाउने सन्दर्भमा चैतपछि रकमान्तरका लागि उदार हुने गर्छ । चालू आर्थिक वर्षको फागुनमा १८ अर्ब रकमान्तर गरेको मन्त्रालयले चैतमा करिब नौ अर्ब रकमान्तर गरेको हो ।

दुई साताअघि अर्थमन्त्री डा. युवराज खतिवडाले भौतिक निर्माणले गति लिएका आयोजनामा अब रकमान्तर गरेर भए पनि रकम जोहो गरिने बताएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा अच्युत पुरीले लेखेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: