
बाग्लुङ । बाग्लुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा दुई लघु जलविद्युत् आयोजनामा क्षति पुग्दा विद्युत् सेवा अवरुद्ध भएको छ। वैशाख १ मा परेको भीषण वर्षाका कारण आएको बाढीले आयोजनामा क्षति पुग्दा विद्युत् सेवा अवरुद्ध भएको हो ।
अविरल वर्षापछि आएको बाढीका कारण गौदी खोला किनारमा रहेको १५ किलोवाटको गौदिखोला चौथो लघु जलविद्युत् आयोजना र २१ किलोवाट क्षमताको गौदिखोला तेस्रो लघु जलविद्युत् आयोजनामा क्षति र्पुयाएको गलकोट नगरपालिका–१ दुदिलाभाटीका वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले जानकारी दिए।
दुलिलाभाटीमा चारवटा लघुजलविद्युत् आयोजना सञ्चालनमा आएकामा दुईवटामा ठूलो क्षति र्पुयाएको र दुईमा आंशिक क्षति र्पुयाएको थियो। बुढाथोकीका अनुसार सामान्य क्षति र्पुयाएको गौदिखोला पहिलो र दोस्रो लघुजलविद्युत् आयोजना सामान्य मर्मतपछि सञ्चालन भएका छन्।
बाढीले ल्याएको ढुङ्गा, गिट्टी, बालुवा र माटोलाई सफा गरेपछि मात्र यथार्थ क्षतिको विवरण आउने वडा कार्यालयले जनाएको छ। गौदिखोला तेस्रोको विद्युत् उत्पादनगृहको केही भाग नै बाढीले बगाएको छ भने चौथोको उत्पादन गृह बाढीले पुरेको स्थानीय सुमित्रा कार्कीले बताइन्।
केन्द्रीय विद्युत् विस्तार गर्न थालिएको दुदिलाभाटीमा १२ वटा केन्द्रीय प्रसारण लाइनका पोलसमेत बाढीका कारण भाँचिएकोे स्थानीय शिव सुनुवारले जानकारी दिए।
