
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।
चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा राष्ट्रपति भण्डारीले यो भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुने र उक्त फोरमलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि दुबै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर हुनेछ ।
यो हस्ताक्षरपछि नेपालले चीनका चार सामुन्द्रिक र दुई सुक्खा बन्दरगाह प्रयोग गर्ने बाटो व्यवहारिक रुपमा खुल्नेछ ।
उनले वरिष्ठ चिनियाँ अधिकारीहरुसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम पनि छ । राजधानी बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ र नेपाली व्यापारिक समुदायलाई संयुक्तरुपमा सम्बोधन गर्ने्छिन् ।
बेइजिङ प्रस्थान गर्ने क्रममा राष्ट्रपतिले सान्सी प्रान्तको राजधानी सियानको भ्रमण गर्ने्छिन् भने स्वदेश फर्कदा चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको भ्रमण गर्ने्छिन् ।
राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि रहने छन् ।
राष्ट्रपति भण्डारी यही वैशाख १९ गते बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।
