बजार अनुगमनलाई प्रभावकारी बनाउनेछौंः आङ्देम्बे

Share:

रञ्जन अधिकारी पोखरा, ३ असोज । चाडपर्वका समयमा व्यवसायीबाट चर्को मूल्यबृद्धि हुन सक्नेतर्फ उद्योग, बाणिज्य तथा उपभोक्ता हित संसदीय समितिले चासो दिएको छ । विशेषगरी चाडबाडका समयमा कृत्रिम अभाव, कालाबजारीबाट उपभोक्ता मारमा पर्ने हुँदा बजार अनुगमनलाई प्रभावकारी बनाउने समितिले जनाएको छ ।

समितिका सभापति भीष्मराज आङ्देम्बेले उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारीसँग शुक्रबार पोखरामा भएको छलफलका क्रममा उनले उपभोक्तालाई मार पर्ने कुनै किसिमका गतिविधि हुन नदिने दाबी गरे ।

IMG_0326

‘ठूला व्यवसायीलाई संरक्षण र साना ब्यवसायीलाई तर्साउने खालको बजार अनुगमन हुँदैन ।’ उनले भने– ‘ठूलाले दिएको खाने र सानालाई थर्काउने मेरो नियत छैन ।’ उनले दशैँ नजिकिरहँदा चामलमा छुट दिने समितिको नीति भएको जानकारी पनि दिए । उनले बजार अनुगमनलाई प्रभावकारी बनाउन आफ्ना सुझाव पेश गर्न पनि संघलाई आग्रह गरे ।

उनले आफू आफ्नो वचनमा इमान्दार भएको दोहो¥याउँदै निजी क्षेत्रसँग यो अभियानलाई सघाउन आग्रह पनि गरे । समितिले राजधानी लगायत देशैभर सुपथ मूल्य पसल राख्ने योजना पनि अगाडि सारेको छ । क्रसर, ग्याँस, नुन, तेल, यातायात लगायत दैनिक जीवनसँग जोडिएका विषयको शुक्ष्म अध्ययन गर्दै उपभोक्ता हितको लागि प्रभावकारी कार्य गर्ने लक्ष्य लिएको सभापति आङ्देम्बेले जानकारी दिए । उनले अन्तर मन्त्रालयबीच समन्वयको अभावमा कामले गति लिन नसकेको स्वीकारे ।

फरक प्रसंगमा उनले पोेखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढिरहँदा पर्यटनमन्त्री भीम आचार्यलाई हटाएको तर्फ संकेत गर्दै भने ‘मन्त्री परिवर्तन र उनकै पार्टी भित्रैबाट आएको आलोचनको त अर्थ होला नि !’, उनले भने ‘विमानस्थल निर्माण पारदर्शी हुनैपर्छ ।’ गत भदौ ११ गते गठित सो समितिका सभापतिलाई संघले मायाको चिनोका साथमा सम्मान पनि ग¥यो । समिति अन्तर्गत ५ वटा उपसमिति पनि गठन भएका छन् ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले बजार अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरे । उनले पोखरा उद्योग बाणिज्य संघ स्वच्छ व्यवसायको पक्षमा रहेको जानकारी दिँदै उद्योग, बाणिज्य तथा उपभोक्ता हितको क्षेत्रमा देखिएका समस्या र सुधारका उपायबारे समितिलाई लिखित रुपमा जानकारी दिने प्रतिवद्धता पनि व्यक्त गरे । पर्यटन मन्त्रालय सकारात्मक रहँदा डा. रामशरण महतकै कारण अर्थमन्त्रालयमा फाईल रोकिएको थापाले जनाए ।

पश्चिमाञ्चल क्षेत्रीय उद्योग बाणिज्य संघका अध्यक्ष तथा पोखरा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष संजिवबहादुर कोइरालाले चेम्बर अफ ल लागू हुन सके गैरव्यवसायी नहुने भएकाले यसतर्फ ध्यानाकर्षण गराए । उनले न्युन विजिकरणको समस्या सल्टाउन समितिका सभापतिसँग माग पनि गरे । उनले सरकारी निकायमा दर्ता नभई सञ्चालनमा रहेका ब्यवसायीहरुबाट एक किलोग्राम चामलमै उपभोक्ता कम्तिमा ३ रुपैयाँको दरले ठगिएको ठोकुवा गरे । ९० प्रतिशत तेलजन्य सामाग्रीमा अखाद्य बस्तु मिसावट रहेको जनाउँदै उनले एकपटक एनएस दिएपछि अनुगमन नै नहुने गरेको उल्लेख गरे । ‘फुटपाथ व्यवस्थापनको नाममा व्यवसायीबाट सामानभन्दा बढि रकमको जरिवाना लगाउने, सामान लिन नआए नगरपालिका कर्मचारीहरु नै मिलेर खाने प्रवृत्ति देखिएको छ ।’ कोईरालाले भने – ‘पोखरा नजिकैको शान्ति स्तुपा क्षेत्रमा त २० रुपैंयाको सामान ८० रुपैंयामा बेचेको पाईयो भने अन्य स्थानमा के होला ?’

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले उपभोक्ता हितको लागि निजी क्षेत्र सरकारसँग हातेमालो गर्न तयार रहेको धारणा व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
Share: