
काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुलविरुद्ध फराकिलो जित निकालेको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले लिभरपुललाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
क्याम्प नाउमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै लुइस स्वारेजले एक गोल गरे ।
बार्सिलोनाले खेलको २६ औं मिनेटमा स्वारेजको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । योसंगै स्वारेजले सिजनको पहिलो च्याम्पियन्स लिग गोल गरे । पुर्व क्लबविरुद्ध स्वारेजको यो पहिलो गोल समेत हो ।
पहिलो हाफमा १–० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्यो । जसमा कप्तान मेस्सी नायक बने । खेलको ७५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए । लिभरपुलविरुद्धको दुई गोलसंगै मेस्सीले बार्सिलोनाका लागि ६ सयौं गोल पुरा गरेका छन् ।
घरेलु टोलीविरुद्ध बल पोजिसनमा पकड जमाएपनि लिभरपुलले गोल गर्न सकेन । लिभरपुलले पाएको केहि गोलको अवसर समेत खेर फालेको थियो ।
पहिलो लेगको जितसंगै बार्सिलोनाले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दुई टोलीबीचको दोस्रो लेग अर्को साता लिभरपुलको मैदान एनफिल्डमा हुनेछ ।
