शीतलको सालिक सार्वजनिक, ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरा’ मा लेख्ने शीतल मुक्तकतिर

Share:

पोखरा । श्रष्टा शीतल गिरीको सालिक मुक्तक सङ्ग्रह शनिबार पोखरामा सार्वजनिक भएको छ ।

मुक्तक मञ्च पोखराको आयोजनामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरेका हुन् । सरुभक्तले शीतलको सालिकले पोखरेली मुक्तक इतिहासमा महत्त्वपूर्ण स्थान राख्ने विश्वास व्यक्त गरे ।

मञ्चका अध्यक्ष प्राञ्जलको अध्यक्षतामा भएको कार्यक्रममा मुक्तककार गिरीले आफूले लेखेको कान्छो विधा भए पनि मुक्तकले बढी आकर्षण गरेको हुनाले पहिलो किताब मुक्तककै निकालेको बताए ।

कार्यक्रममा श्रष्टा परिचय साहित्यकार मन क्षेत्रीले दिएका थिए भने प्रकाशक बी. एन. पुस्तक संसारका प्रबन्धक सूर्य बीसीले गिरीका मुक्तक मन परेर छापेको बताए । उपाध्यक्ष भरतराज पौडेलले उपस्थितलाई स्वागत गरे । कार्यक्रमको सञ्चालन सचिव रामजीप्रसाद आचार्यले गरेका थिए । सालिकभित्रका मुक्तक श्रीराम अधिकारी र अनिता दाहालले वाचन गरेका थिए ।

म बिना कसै कसैलाई मुस्किल छ पोखरामा बोलको गजलबाट लोकप्रियता हासिल गरेका गिरीका डेढ दर्जन गीतगजल रेकर्ड भएका छन् ।

कृति लोकार्पणको अवसरमा श्रष्टा परिचयका क्रममा मन क्षेत्रीले प्रस्तुत गरेका धारणा जस्ताको तस्तैः

शितल गिरीको परिचय

लगभग सम वयका मान्छेहरु हामी । साहित्ययात्राका धेरै कुरा धेरैका लागि साझा जस्तापनि छन् । नोस्टाल्जिक बनाउने आफ्नै विगतका डोबहरु जस्ता । स्कुल लाईफमा यिनको सवैभन्दा मिल्ने साथी रेडियो थियो । रेडियोमापनि रेडियो नाटक । यसको प्रभाव यति बलियो थियो कि शितल उन ताका रेडियो नाटक लेख्थे र गाउँले साथीहरु बटुलेर घरमा भएको कुनै हिन्दी फिल्मी गितको क्यासेट मासेर वाकमेनमा रेडियो नाटक रेकर्ड गर्थे ।

शितललाई एसएलसी दिन कास्कीकोटले पोखरा पठाएको थियो । पोखरामा दाई रेशम गिरीको रुम शेयर गरेका शितलले नेपाली पढ्ने दाईका पुस्तकहरु, पुस्तकमा विशेष उपन्यासहरु मज्जाले पढन पाए । रेडियो त छँदै थियो । साथीका रुपमा केहि थान उपन्यास थपिए ।
गजल लेखनमा शितललाई रेडियोको गजल कार्यक्रमले तानेको हो । यिनलाई उनताका रेडियोमा गजलको कार्यक्रम चलाउने दर्पण राजवंशीको अझै सम्झना छ । उनकै कार्यक्रममा प्रस्तुत हुने गजललाई आधार मानेर संरचनाको ज्ञान विना नै शितल गजलमा होमिएको स्विकार्छन् । त्यतिबेला रेडियोहरुले कार्यक्रममार्फत प्रदान गर्ने विभिन्न पुरस्कारहरुको लोभले रेडियोमा रचना वा गजल पठाउन शुरु गरेकोपनि उनैको स्विकारोक्ति हो । उनताका उनले काठमाडौ पोखराको बस टिकट र अरु अरु थुप्रै पुरस्कार पाएका थिए । गजलसंगै त्यतिबेला उनी नेपाली आधुनिक गीतका प्रतिपनि औधी सम्मोहित भएका थिए । आफूलाई मनपर्ने गित गुन्गुनाउँदै त्यसैको लयमा आफ्ना शव्दहरु भरेर नयाँ गित तयार गर्न उनले त्यतिबेलै सिकेका हुन् । आइकम पढ्दाका सहपाठी बिमल पराजुली गायनमा संर्घष गर्दै थिए । शितल क्या लेखें यार कस्लाई सुनाउँ ? कसरी बढीभन्दा बढी मानिसहरुकहाँ पुग्ला ! भन्ने ध्याउन्नमा रहेका बेला बिमल उनका सबैजसो गीत सुन्ने पहिलो पाठक । यो क्रमले नै उनलाई गीतकार बनायो । विनोद बानियाँको संगीतमा अन्ततः बिमलले नै यिनको पहिलो गीत गाए

‘केहि छैन दिउँ भने गरिबीले थिचिएँ ।
मनै थियो मनै दिएँ झनै म त रित्तिएँ ।

बिनोदलाई बिमलले चिनाए । चिनारी अहिले बलियो मित्रतामा छ ।

शितललाई फेरि पोखराले मास्टर्स गर्न किर्तिपुर पठायो । गजलको गतिविधि खोज्दै अनाममण्डली पुगेका शितलसंग विपिन किरण जोडिए । विपिन मार्फत संगितकार महेश खड्कासंग शितलको परिचय भयो । परिचयले शितललाई बलियो परिचय दियो । शितलको दोस्रो रेर्कडेड गीत अर्थात पहिलो रेर्कडेड गजल

म बिना कसैकसैलाई मुस्किल छ पोखरामा
म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा ।

यो संग सम्वन्धित धेरै किस्साहरु छन् । शायद २०६४ ताका होला । पोखरामा चलचित्र महोत्सव थियो । महोत्सवमा महेश खड्का र विपिन किरण पोखरा आएका थिए । महेश खड्काकै करबलमा उनीहरु कास्कीकोट जाने भए । शितलले भाले काट्ने भए । झमझम परेको पानीमा रुझ्दै जाँदा महेश खड्काको मोबाइल नै बिग्रियो । भालेको सित्तनसंग विपिनको अनुरोध मिसियो । शितलले यहि गजल सुनाए । महेशले टेवल ठोके । माहौल जम्यो ।

यो गजल बोकेर गएको धेरै समय भयो । संगित तयार हुँदापनि गाउन र आफ्नो एल्बममा राख्न तयार हुनेहरु भेटिएनन् । महेश खड्काले खासमा यो कुनै फिल्मका लागि तयार पारेको गीत थियो । ऊ बेला गायक प्रमोद खरेलका प्राप्ती र सेन्टीमेन्टले खासै चर्चा बटुलेनन् । उनी प्रणयको तयारीमा थिए । प्रणयका लागि करिब छ सातवटा गित तयार भैसकेका थिए । महेशको अनुरोधमा प्रमोदले यो गजलपनि गाए । उतीबेला एउटा भनेपनि गजल समावेश गरेर एल्वम निकाल्ने लहर जो थियो । तर फेरि एल्वममा राख्नेबेला राजेन्द्र थापाले लेखेको याद गर्नपनि कोहि न कोहि त चाँहिँदो रहेछ भन्ने गजल र मुस्किल छ पोखरामा मध्य कुन चै राख्ने भन्ने भो । शितल र प्रमोद दुवैको भाग्य थियो शायद अन्तत् दुवै गजल एल्वममा समेटिएर बाहिर आयो र पछि त्यो एल्वमको सबैभन्दा धेरै चल्ने गीत मध्ये यी दुई गजलले नै बाजी मारे ।

मुस्किल छ पोखरामा समेत अहिलेसम्म शितलका करिब डेढ दर्जन गीत गजलहरु रेर्कड भएका छन् । त्यहि एउटा छाडेर अरु संझिनुस न भन्यो भने शितल छेउको छड्के दाँत देखाएर हाँस्छन् मात्र । त्यो हाँसोबाट खै के बुझ्ने ? संगीत संगत हो । शितल साँच्चै राम्रो गीत लेख्छन् । उनका बाँकी गीतहरुपनि लेखनका दृष्टिले राम्रै थिए । संगतको संयोग उस्तो सारो नमिलेको हो भन्ने लाग्छ । गीतकारका रुपमा शितलको आगामी चुनौती मुश्किल छ पोखरामा बाहेकको नम्बर दुई हो ।

शितल साहित्यिक संघ संस्थामा छैनन् । फुर्सदपनि छैन् । बेफुर्सदमै हो उनले लेख्दै आएको । पहिला पढ्दै लेख्दै गरे । अहिले जागिर घरव्यवहार सवैको जिम्मेवारीसहित लेख्दैछन् ।

मुक्तक शितलले संगत गरेको कान्छो विधा हो । यो विधाका गुरु मुक्तक मञ्चका पूर्व अध्यक्ष गोविन्द गरी हुन् । रेशम गिरीलाइ समेत यहाँ छुटाउन मिल्दैन रे । शितलका मुक्तकहरु पोखराले नै खासमा सुनेको छैन । कस्तो लेख्छन् त्यो पनि कमैलाई थाहा छ । राम्रा गीत राम्रै गजल लेख्ने शितलले राम्रै मुक्तक लेखे होलान भन्ठान्छु ।

लेख्नभन्दा प्रकाशन गर्न हतारो गर्नेहरु थुप्रै छन् । यसो यिनले पक्कै गरेनन् होला भन्ने ठानेको हुँ । यसो त शितल संग प्रकाशन गर्न पुग्ने गीतहरु उन्ताकैदेखि थुप्रेर बसेका छन् । गजलहरु उस्तै छन् । मुक्तक संग्रह प्रकासन गरेर प्रकाशन यात्राको शुरुवात गर्न खोजेका हुन कि भन्ठान्छु । शितल आफैपनि मुक्तक निकालेर अरु निकालिन भने मुक्तक पछि निकाल्दिन कि भन्ने डरले यहाँबाट शुरु गरेको हुँ भन्छन् ।

पोखरेली मुक्तकको बैशिष्ठ्य भनेको विषय र भावको सघनता हो । शितलले यो पक्कै बुझेरै आएका हुनन् । शितललाई शुभकामना ।

खै ! अरु के भन्नु ? शितल बैंकका म्यानेजर हुन् । पूर्व सञ्चारकर्मीमा पतिबाट यिनको परिचयमा दुई सन्तानका बाबु थपिएकोपनि भर्खर भर्खर हो । कसैले घर सोध्यो भने शितलले मान्छे हेरेर वा विचार गरेर हुनुपर्छ । कसैलाई चाउथे भनिदिन्छन् । कसैलाई कास्कीकोट । यिनको थातथलो कास्कीकोट र आर्जन चाउथे हो । यी मनुवा पोखराका धेरै कार्यक्रमहरु छुटाउने मध्यमा पर्छन् । बोल्न जानेका मध्यमापनि पर्छन् । छुटेका कार्यक्रममा भेटिएका मान्छेहरुलाई कस्तो आउन मन थ्यो । यसो प¥यो, उसो प¥यो भनेर मुख मिलाउन कोहि शितलसंगै सिकोस् । उनको यो बानी मलाइ मन पर्छ । तपाईलाई पनि मन पर्छ भने ताली बजाई दिनुस् । शितललाई बधाई । प्यारे । अर्को बर्ष फेरि बोल्न पाईयोस् । शुभकामना ।

तस्विरः सारंगीन्यूज

कमेन्ट गर्नुहोस्
Share: