
काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार भएको अन्तिम खेलमा ब्राइटनको घरेलु मैदानमा सिटीले ४-१ को फराकिलो जित दर्ता गर्दै उपाधि पक्का गरेको हो ।
खेल दौरान एक समय सिटी १(० ले पछाडी रहँदा लिभरपुलले अग्रता लिँदै उपाधि होडमा अगाडी रहने देखिएको थियो । ब्राइटनका लागि खेलको २७ औं मिनेटमा फरवार्ड ग्लेन मरेले गोल गरेका थिए । तर त्यसको एक मिनेट नबित्दै सर्जियो अगुएरोले खेललाई बराबरीमा ल्याए ।
एमेरिक लापोर्टले खेलको ३८ औं मिनेटमा कर्नरमा हेडरमार्फत गोल गर्दै सिटीलाई उपाधि होडमा अगाडी बढाए । दोस्रो हाफको ६३ औं मिनेटमा रियाद माहरेजले सिटीको अग्रता बढाए । उनले डेविड सिल्भाको पासलाई गोलमा परिणत गरे ।
७२ औं मिनेटमा इल्काए गुन्डोगनले फ्रिकिकमा गोल गर्दै सिटीको उपाधि पक्का गरेका थिए । अन्तिम खेलपछि सिटीले ३८ खेलमा ९८ अंक जोड्न सफल भयो । दोस्रो स्थानमा रहेको लिभरपुलले रहन समान खेलमा ९७ अंक जोड्यो ।
लिभरपुलले आफ्नो खेलमा वल्भ्सलाई २(० ले पराजित गरेपनि उपविजेतामा सिमित भयो । लिभरपुलका लागि दुवै गोल साडियो मानेले गरे ।
