
पोखरा । पर्यटन प्रबर्द्धनका लागि पोखरा र बर्दियाबीच मितेरी साइनो गाँसिएको छ । पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवि पोखरेल र पर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष मोहनलाल चौधरीले मितेरी साइनो गाँसेका हुन्।
प्रदेश नम्बर ५ ले ‘लुम्बिनी भ्रमण वर्ष’ र गण्डकी प्रदेशले ‘पोखरा भ्रमण वर्ष’ घोषणा गरेको अवस्थामा बर्दियाले पनि पहिलो पटक ‘बर्दिया भ्रमण वर्ष’ घोषणा गरेर पर्यटन प्रबर्द्धनका लागि पोखरा आएर मितेरी साइनो गाँसेको हो ।
गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश सांसद राजीव पहारी, नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेको उपस्थितिमा दुई जिल्लाका पर्यटन व्यवसायीले पोखरा आएर साइनो गाँसेका हुन्।
बर्दियाको ठाकुरद्वारादेखि पोखरा र पोखरादेखि ठाकुरद्वारासम्म आवत–जावत गर्न पर्यटकका लागि सुविधा सम्पन्न पर्यटक बस सेवा सञ्चालन गरिने भएको छ।
