
काठमाण्डौ – काठमाण्डौका दुई ठाउँमा भएको विस्फोटमा ज्यान गुमाउने तीनै जनाको सनाखत भएको छ ।
ज्यान गुमाउनेमा काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका चुनीखेलका ५४ वर्षीय सुरेन्द्र महर्जन, कपनका ४४ वर्षीय हरि खड्का र महोत्तरी रामनगरका ५६ वर्षीय छोटु ठाकुर रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।
सुकेधाराको विस्फोटमा घाइते भएका ५ जनाको ओम अस्पतालमा र घट्टेकुलोमा घाइते भएका १ जनाको वीर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले घटना विप्लव नेतृत्वको नेकपाले गराएको पनि प्रारम्भिक अनुमान गरेको छ । घट्टेकुलोमा विस्फोट भएको वस्तु बम नै भएको पुष्टि भएको महनगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । घट्टेकुलोमा विप्लव नेतृत्वको नेकपाको पर्चा पनि भेटिएको छ ।
विस्फोटमा परि विप्लव निकट विद्यार्थी संगठनका नेता रवीन केसी घाइते भएका छन् ।
