
बाग्लुङ । बाग्लुङको तमानखोला गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण गर्न थालेको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको ५ लाख रुपैयाँ र स्थानीय जनश्रमदानमा शौचालय र खानेपानीको धारो निर्माण गरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए ।
सोलेडाँडा घुम्न तथा वनभोज जाने पर्यटकलाई सहज पुर्याउन र पर्यटकलाई आकर्षित गर्न पूर्वाधार निर्माणलाई अगाडि बढाईएको हो ।सोलेडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विभिन्न योजना बनाउने लक्ष्य गाउँपालिकाको रहेको छ ।
सोलेडाँडाबाट धौलागिरी, अन्नपूर्ण, दूरलेकलगायत थुप्रै हिमश्रृखला अवलोकन गर्न पाइन्छ ।यस्तै बाग्लुङका उच्च पहाडी क्षेत्र र म्याग्दीका अधिकांश मनमोहक दृश्य पनि सो स्थानबाट सहजै अवलोकन गर्न सकिन्छ ।पछिल्लो समय आन्तरिक पर्यटक बढ्न थालेका छन् ।
File Photo
