
बाग्लुङ । धौलागिरि अञ्चल अस्पतालले पहिलोपटक शव राख्न मिल्ने उकपरण (मर्चुरी चेम्बर) खरिद गरेको छ । धौलागिरि अञ्चल अस्पताल व्यवस्थापन समितिको पहलमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त रु १३ लाख ५० हजारले अस्पतालको शवगृहका लागि सो उपकरण खरिद गरिएको हो ।
आफन्तले नबुझेका तथा सनाखत नभएका व्यक्तिको शव लामो समय राख्न नमिल्ने भएकाले आधुनिक शव राख्न मिल्ने उपकरण खरिद गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए ।
सो ‘मर्चुरी चेम्बर’मा एकै साथ चार शव राख्न सकिन्छ । विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवा सुविधा गुणस्तरीय नभएको बिरामीको गुनासो बढेसँगै व्यवस्थापन समितिको पहलमा विशेषज्ञ चिकित्सकसमेत राखिएको छ ।
सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको उक्त अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृतले सेवा प्रदान गरिरहेको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताए ।
अञ्चल अस्पतालमा फोहर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङलगायत सुविधासमेत प्रदान गर्न थालिएको छ । उक्त अस्पतालमा विशेषगरी स्वास्थ्य बीमा प्रभावकारी भएसँगै बिरामीको चाप बढेको छ । -रासस
