पोखरा आएर ओलीले भने-‘अदालतले दोषी ठहर नगरी रवीन्द्रलाई दोषी भन्न पाइन्छ ?’

Share:

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडवडी जहाज खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् । पोखरामा शनिबार आयोजित रवीन्द्र अधिकारी स्मृती प्रतिष्ठानको औपचारिक घोषणा सभामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने,’उहाँको त्यसमा कुनै संलग्नता नै थिएन, निर्दोष भएपछि निर्दोष भन्न पाइदैन ? उनले प्रश्न गर्दै थपे,’अदालतले निर्दोष ठहर नगरी प्रधानमन्त्रीले निर्दोष छ भनेर पाइन्छ भनेर भन्लान तर अदालतले दोषी ठहर नगरी दोषी भन्न पाइने, मनपरी भन्न पाइने अनि निर्दोष भन्न नपाइने ?’ केहि पूर्वाग्रही छुद्र ढंगले चल्न खोज्ने संस्था न्यायाधिश बन्न खोजेको भन्दै उनले आक्रोश ब्यक्त गरे ।

उनले स्वर्गीय नेता अधिकारीले आफ्नो एक वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको जिकिर गरे । प्रधानमन्त्री ओलीले भने,’नयाँ मन्त्री हुनुहुन्थ्यो, पर्यटन क्षेत्र बुझ्नुपर्यो, संस्कृति क्षेत्र बुझ्नुपर्यो, कसरी बुझ्नुहुन्छ भन्ने सोच्थे तर उहाँले निकै कुशलतापूर्वक काम गर्नुभयो ।’

उनले कास्कीका बासिन्दालाई रवीन्द्र अधिकारी जस्तो नेता पाएकोमा गर्व गर्न आग्रह गरे । कास्की क्षेत्र नं–२ का सङ्घीय सांसद् रहेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो।

यस्तै कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले रवीन्द्र अधिकारी स्मृती प्रतिष्ठानलाई गर्नुपर्ने सहयोगमा आफू प्रतिवद्व रहेको बताए ।

कमेन्ट गर्नुहोस्
Share: