
पोखरा, ७ असोज। जेष्ठ नागरिक सरोकार समाज नेपालले संचालन गरेको जेष्ठ नागरिक पत्रकारिता पुरस्कारबाट पोखराका युवा पत्रकार प्रकाशचन्द्र सापकोटा पुरस्कृत भएका छन्।
पुरस्कारको राशी नगद पाँच हजार पाँच सय ५५ सहित दोसल्ला र सम्मान पत्र रहेको छ। पत्रकारिताको क्षेत्रबाट जेष्ठ नागरिकका आवाजहरुलाई बुलन्द पारेकोभन्दै उनलाई सो पुरस्कारबाट पुरस्कृत गरिएको हो। समाजको दोस्रो स्थापना दिवसको अवसरमा पोखरामा मङ्गलबार आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक सरोकर समाज नेपालका यशस्कर सदस्य सूर्यमोहन भट्टराई, पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकरामअधिकारी, समाजका अध्यक्ष हरिप्रसाद किरण ओझा र पुरस्कार रकमका सहयोगदाता खिमलाल पराजुली पत्रकार सापकोटालाई पुरस्कार प्रदान गरेका थिए।
सो पुरस्कारबाट पहिलो पटक पत्रकार सापकोटा पुरस्कृत भएका हुन्। जेष्ठ नागरिक सरोकार समाज नेपालका अध्यक्ष हरिप्रसाद किरण ओझाको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले उनलाई सो पुरस्कार दिने निर्णय गरेको हो। उनी एक दशकबढि समयदेखि पत्रकारितामा क्रियाशिल छन्। उनि आदर्श समाज राष्ट्रिय दैनिकका वरिष्ठ सम्वाददाता हुन् ।
सोहि अवसरमा विभिन्न क्षेत्रबाट जेष्ठ नागरिकका समस्यामा सहयोग गर्ने व्यक्तिहरुलाई पनि सम्मान गरिएको छ। सम्मानित हुनेहरुमा यशस्कर सदस्य विष्णुकुमारी सापकोटा, जेष्ठ सदस्य कलानिधी पौडेल, पुनरावेदन अदालत पोखराका न्यायधिश डिल्लिराज आचार्य, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रमेशप्रसाद अधिकारी, वात्सायन बृद्वाश्रमकी सेविका सिता वाग्ले , कुँडहर सेवा समितिका पुर्व अध्यक्ष दानबहादुर थापा र आजिवन सदस्य कृष्णप्रसाद बराल छन्।

