भदौ तेस्रो सातादेखि ‘प्रथम विश्वकर्मा कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता’

Share:

पोखरा । विश्वकर्मा सेवा समाज लाहाचोक, कास्कीको आयोजनामा भदौ तेस्रो सातादेखि पोखरामा प्रथम विश्वकर्मा कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । खेलकुदको माध्यमबाट समाजका विभिन्न समुदायबीचको सम्बन्ध विकास गर्न प्रतियोगिताको आयोजना गरिएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

भदौ २१ गतेबाट सुरु हुने प्रतियोगिता भदौ २८ गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेताले हुनेले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेता हुने टिमलेे ५१ हजार १ सय ११ रुपैयाँ पाउने छ । प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट डिफेन्स, बेस्ट गोलकिपर, बेस्ट मिडफिल्डरलगायतका विधागत पुरस्कार पनि रहेको समाजका अध्यक्ष जीवन सुनारले जानकारी दिए ।

पोखराको पुरानो टुडिखेलमा हुने प्रतियोगितामा ५० टिम सहभागी हुने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख खर्च लाग्ने अर्थ समिति संयोजक राजेन्द्र गहतराजले बताए । प्रतियोगिताबाट बचत हुने रकम लाहाचोकस्थित जनजागरण आधारभूत विद्यालयको स्तरोन्नती र शिव तथा विश्वकर्मा मन्दिर निर्माणमा गरिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: