ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका सात जना घाइते, दुई गम्भीर

Share:

सिमरा – बाराको डुमरवानामा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकै परिवारकासात जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित स्याउली बजारमा नरजमान थिङको घरमा सिडिन्डर पड्किएको हो ।

घटनामा ६७ वर्षीय नजरमान थिङ, ३२ वर्षीया ज्ञानीमाया थिङ, ३२ वर्षीय बौद्धमान थिङ, ३२ वर्षीय अनिता थिङ,४८ वर्षीया दिलमाया वाइबा, ५५ वर्षीया साईमाया वाइबा, ३२ वर्षीया दिलमाया वाइबा पनि सिलिण्डर पड्किएर घाइते भएका छन् ।

घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको शरीरको विभिन्न भाग र कपाल जलेको छ । घाइतेमध्ये नजरमानकी बुहारी ज्ञानीमाया र अनिताको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सिमरा जनाएको छ ।

रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएको र आगो बाल्दा ग्यास पड्किएका जनाइएको छ । नजरमानकी बुहारी ज्ञानीमायाले चिया पकाउनका लागि सिलिण्डरमा रेगुलेटर जोड्न लागेकी थिइन् । उनको घरमा छलफल गर्नका लागि छिमेकी आएका थिए । रेगुलेटर जोड्न नसकेपछि ज्ञानीमायाले सबैलाई जानकारी गराइन् । घरमा उपस्थित सबै भान्सामा पुगे । त्यतिबेलासम्म भान्सामा ग्यास लिक भइसकेको थियो । रेगुलेटर जोडेर ग्यास बाल्ने क्रममा आगो लागेको र ग्यास पड्किएको प्रहरीले जनाकारी दिएको छ । ग्यास पड्किएलगत्तै स्थानीय र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पु¥याएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: