बिहेको भोज खाँदा झाडापखलाको महामारी, ५० बढी बिरामी

429
0
Share:

मेलम्ची-सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा बिहेकाे भाेज खाँदा झाडापखलाको महामारी फैलिएको छ। डापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन्। केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए।

बिरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ। अस्पतालको एउटै शय्यामा तीन जनासम्म बिरामी राखेर उपचार भइरहेको स्थानीय मिलन सुवेदीले जानकारी दिए।

शुक्रबार स्थानीय गोपीकृष्ण भुजेलकी छोरीको विवाह थियो। त्यही बिहेको भोज खाएपछि यो महामारी देखा परेको हो।विषाक्त खाना भएका कारण झाडापखलाको प्रकोप फैलिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। झाडापखलाका कारण बिरामी भएका केहीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। केहीको स्थिति गम्भीर छ।

गाउँबाट बिरामीलाई अस्पताल लैजाने क्रम जारी रहेको स्थानीय विनोद नेपालले जानकारी दिए। गम्भीर विरामीलाई थप उपचारका लागि धुलिखेल र काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको गाउँपालिका अध्यक्ष क्षेत्रीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: