
बिग न्यूज
पोखरा, २८ जेठ । सबैभन्दा छोटो समयमा युट्युबमा एक करोड भ्यूज पाउने गीत गलबन्दी बनेको छ । १८ दिनको बीचमा यो गीतले १ करोड भ्युज पाउँदै रेकर्ड बनाएको हो । यसअघि यो रफ्तारमा कुनै पनि गीतसंगीतले भ्युज पाउन सकेका थिएनन् ।
प्रकाश सपुतको कन्सेप्ट, स्वर, संगीत र शब्दमा तयार भएको गीतको भिडियोले गण्डक क्षेत्रको प्रतिनीधित्व गर्छ । मौलिकता नै सबैले रुचाउँछन् भन्ने कुरालाई यो कुराले फेरि एकपटक पुष्टी गरिदिएको छ ।
यो गीतसँगै अभिनेत्री अञ्जली अधिकारीको अभिनय । प्रकाशको अभिनय र गाउँले परिवेशलाई दर्शकले अत्याधिक रुचाएका छन । त्यसैले यो गीतमा तीस हजार भन्दा बढि कमेन्टहरु पनि आएका छन । जुन कुरा पनि आफैमा रेकर्ड हो ।
यसअघि दर्दनाक बिलौना बोकेको गीत ‘बोल माया’को प्रिक्वेलको रुपमा गलबन्दी गीतलाई ल्याईएको थियो । तत्कालिन समयमा वैदेशिक रोजगार र त्यसले निम्त्याएको समस्याको विषयलाई उत्थान गरिएको गीतलाई पनि दर्शक तथा स्रोताहरुले खुब रुचाएका थिए । बोल माया को चरित्रहरु गलबन्दीमा भने रोधीमा रमाईरहेका भेटिन्छन् ।
निकै उत्कृष्ट ढंगबाट भिडियो बनाईएको कारण पनि प्रकाश सपुतको पछिल्लो कृतिलाई दर्शक स्रोताले निकै रुचाएका हुन् । नेपालसँगै विदेशमा रहने नेपालीहरुले यो गीतलाई रुचाएकै कारण गीत यति छिट्टै करोड क्लबमा पुगेको सपुत बताउँछन् । गीतको रेकर्डलाई लिएर उनी हरेक नेपालीहरुसँग धन्यबादी सुनिए ।
गीतसँगै यो भिडियोमा प्रयोग गरिएका झर्रा भनाईहरु दर्शकले अत्याधिक रुचाएका छन् । ‘ढिला आयो, कडा आयो’, ‘हल्का ग्यास्टिक’, ‘खुट्टा भए जुत्ता कति कति’ जस्ता भनाईहरु फेरि एक पटक यही भिडियोका कारण ट्रेन्डिङमा छन् ।
