
पोखरा । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सातओटै प्रदेशले आज (आइतबार) दोस्रो बजेट ल्याउँदै छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले आगामी आवको बजेट असार १ गते ल्याउनैपर्ने संवैधानिक व्यवस्था गरे अनुसार प्रदेश सरकारहरुले आज बजेट सार्बजनिक गर्न लागेका हुन् ।
प्रदेश नम्बर १ ले गतवर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्षमा ३५ अर्ब ९३ करोडको बजेट सार्वजनिक गरेको प्रदेश नम्बर १ ले आगामी आर्थिक बर्षका लागी करिब ३६ अर्ब रुपैयाँको बजेट ल्याउन लागेको प्रदेश योजना आयोगले जनाएको छ ।
प्रदेश नम्बर २ ले करिब ३२ देखि ३४ अर्ब रुपैयाँ सम्मको बजेट ल्याउने गृहकार्य गरेको छ। चालु आर्थिक बर्षका लागी २९ अर्ब रुपैयाँको बजेट ल्याएको प्रदेश नम्बर २ ले करिब ४ अर्बको बजेट बृद्धि गर्दै बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।
प्रदेश नम्बर ३ ले सबैभन्दा धेरै ५० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। पहिलो वर्ष ३५ अर्ब ६१ करोड रुपैयाँ बजेट ल्याएको प्रदेश नम्बर ३ ले आगामी आर्थिक बर्षका लागि करिब ५० अर्ब हाराहारीको बजेट ल्याउने गृहकार्य गरेको हो।
त्यस्तै गण्डकी प्रदेशले चालू आर्थिक वर्षका लागि २४ अर्ब रुपैयाँको बजेट ल्याएकोमा आगामी आर्थिक वर्ष ८ अर्ब बढाएर ३२ अर्बको बजेट पुर्याउने बताइएको छ ।
प्रदेश नम्बर ५ ले झन्डै २५ प्रतिशतले बजेट वृद्धि गर्ने गरी ३५ अर्ब हाराहारीको ल्याउँदै छ। प्रदेश नम्बर ५ ले पहिलो वर्ष २८ अर्बको बजेट ल्याएको थियो। यस्तै कर्णाली प्रदेशले केन्द्र सरकारसँग ऋण नलिने गरी बजेट ल्याउने जनाएको छ।
सुदूरपश्चिम प्रदेशले सबैभन्दा सानो बजेट ल्याउने तयारी गरेको छ । गतबर्ष २५ अर्ब रुपैंयाको बजेट ल्याएको सुदूरपश्चिम प्रदेशले अहिले करिब ४ अर्ब रुपैयाँले बजेटको आकार वृद्धि गरेर बजेट ल्याउने तयारी गरेको छ ।
प्रदेशहरुले पहिलो बजेटमध्ये औसतमा २२ प्रतिशत मात्र खर्च गरेका छन् । संघीय सरकारले प्रदेशलाई तोकेको वित्तीय अनुदान, राजस्व बाँडफाँट र रोयल्टीको निर्धारणअनुरूप ती स्रोतमा आधारित भएर सातओटै प्रदेशका अर्थमन्त्रीहरूले प्रदेशसभामा बजेट पेश गर्ने भएका छन् । प्रदेशको आन्तरिक राजस्व र आन्तरिक ऋणलाई समेत आधार मान्दै बजेट बनाइएको छ ।
