प्रधानमन्त्री ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै

Share:

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आज (आइतबार) स्वदेश फर्कँदै छन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री आइतबार स्वदेश फर्कन लागेका छन् ।
शनिबार साँझ ५ बजे स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेशका लागि प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार बिहान ९ बजेर ४० मिनेटमा काठमाण्डौ आइपुग्ने बताइएको छ ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन गएका थिए । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत गएका थिए । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई उनले सम्बोधन गरेका थिए ।

यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए । यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए । राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी हुने विश्वास लिइएको छ ।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत रहेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: