दाताको सहयोग सात करोडमा, तिरुपति बालाजीको मन्दिर निर्माण

Share:

बागलुङ  :  दाताहरूको सहयोगले बागलुङ नगपालिका–४ कुँडुलेमा कलात्मक तिरुपति बालाजीको मन्दिर निर्माण गरिएको छ। दाताले स्वेच्छाले दिएको सात करोड रुपैयाँमा मन्दिर निर्माण भएको हो।

प्यागोडा शैलीको यो मन्दिर पशुपति मन्दिर पछिको ठूलो भएको दाबीसमेत गरिएको छ। कलात्मक रुपमा यो मन्दिर नेपालकै पहिलो भएको निर्माण समितिका अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताए। ‘कला र सीपको पनि संरक्षण गर्न यो मन्दिरमा हामीले सात वर्ष लगाएका छौँ’ प्रपन्नाचार्यले भने, ‘यो मन्दिरमा २४ हजार श्रीराम लेखिएका ढुंगा र ६ हजार क्यूफिट सालका काठ प्रयोग गरिएको छ।’ मन्दिरको चारैतिर ६४ वटा टुँडाल छन्। ती सबैमा फरक फरक देवी देवताका मूर्ति कुँदिएका छन्।

ती मूर्ति कुँद्नका लागि दक्षिण भारतबाट कालिगढ आएका थिए। स्थानीयले पनि फरक ढंगको कला कोरेका छन्। एउटै साइजका ढुंगा काटेर सबैमा श्रीराम लेख्ने काम स्थानीयले गरेका थिए ।

मन्दिरको छाना तामाले छाइएको छ। पूजा गर्ने कोठाको वरिपरिको भित्तामा पित्तल हालिएको छ। मल्लकालीन डिजाइन जोगाउन यो मन्दिर निर्माण भएको मन्दिर निर्माण समितिका सदस्य सहदेव राजभण्डारीले बताए। भजनकीर्तनका लागि बागलुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका राजभण्डारीले झण्डै एक करोड रुपैयाँ खर्चेर सभाहल तथा गरुडशीला समेत बनाइदिएका छन्। सभाभवनमा झण्डै ५०० जना बसेर कार्यक्रम गर्न सकिन्छ।

यो मन्दिरदेखि पञ्चकोटसम्म पदमार्ग निर्माणको योजना पनि छ। सबै योजना सफल भए उल्लेख्य पर्यटक भित्र्याउन सकिने स्थानीयको भनाइ छ। ‘धार्मिक पर्यटनको गन्तव्य बनाउन सकिन्छ भन्ने लागेको छ’ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले भने, ‘यहाँको पूर्वाधार निर्माणमा मन्त्रालयले पनि सहयोग गर्छ।’ पर्यटक भित्र्याउन गरिएको पहलमा सरकार सहयोगी बन्ने उनले बताए।

कमेन्ट गर्नुहोस्
Share: