दलित परिवारलाई सुधारिएको चुलो वितरण :सुधारिएको चुलोले समय बचत, स्वास्थ्यमा सुधार

Share:

तनहुँ। तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङका दलित परिवारलाई सुधारिएको चुलो वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७५÷७६ मा सशर्त अनुदान तर्फ विनियोजित बजेटबाट गाउँपालिकाले ग्वास्लुङका २० दलित घरधुरीलाई सुधारिएको चुल्हो वितरण गरेको हो ।दलित बस्तीका सर्वसाधारणको स्वास्थ्यको ख्याल गर्दै सुधारिएको चुलो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।“आर्थिक रुपमा विपन्न दलित परिवारलाई विशेष प्राथमिकतामा राखेर सुधारिएको चुलोे वितरण गरेका हौं,” अध्यक्ष श्रेष्ठले भने, “सुधारिएको चुलोेको प्रयोगले धुवाँरहित बनाउन सहयोग पुग्नेछ ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले दलित परिवारको घरभित्र धुवाँमुक्त गर्न साथै स्वास्थ्यस्तर सुधार गर्न सुधारिएको चुलोे वितरण गरिएको बताए । उनका अनुसार पाँच हजार मूल्य पर्ने सुधारिएको चुलोे अनुदानमा वितरण गरिएको हो सुधारिएको चुलोे प्रयोग गर्न कम दाउरा लाग्ने भएकोले सामुदायिक वनको संरक्षणमा सहयोग पुग्ने पौडेलले बताए । पौडेलले भने, “सुधारिएको चुलोेले समय बचत, स्वास्थ्यमा सुधार र दैनिक जीवन सहज बनाउन सहयोग त पुग्नेछ । साथै वनको संरक्षणका लागि टेवा पुग्नेछ ।”

स्थानीयवासी थमन परियारले परम्परागत चुलो प्रयोग गर्दा बढी धुवाँ आउने भएकोले आँखा दुख्ने, खोकी लाग्ने, छाती दुख्ने जस्ता समस्या हुने गरेको बताए । स्थानीयवासी सविना विकले सुधारिएको चुलोको प्रयोगले धुवाँको समस्याबाट मुक्ति मिल्ने बताए । उनले भने, “परम्परागत चुलोेबाट खाना पकाउँदा धुवाँले आत्तिन्थ्यौं, जसले गर्दा आँखा दुख्ने समस्या हुन्थ्यो, अब केही सहज हुन्छ ।”

कमेन्ट गर्नुहोस्
Share: