संसदमा ‘गलबन्दी’ चर्चा : विश्वकर्मा भन्छन-‘शम्भु राईले मतियार प्रयोग गरेर सपुतमाथि विभेद गरे’

Share:

बिग न्यूज
पोखरा, ९ असार । सामाजिक संजालमा चर्को रुपमा उठेको गलबन्दी गीतको मुद्दा अन्ततः जातियतासंग गएर जोडिएको छ । केही उच्छृंखल व्यक्तिहरुले सामाजिक संजालमा दलित समुदायको अपहेलना हुने गरि गलबन्दी गीत र त्यसका गायक प्रकाश सपुतलाई लगाएको आरोपले यतिबेला सामाजिक संजाल तातेको छ । दलित समुदायका विभिन्न संघसंस्थाहरुले यो विभेदयुक्त आरोपको बिरुद्धमा मुख खोलेका छन । कतिपयले त अझै उजुरी नै दिएका छन ।

यही बीचमा यो मुद्दाले संसदमा पनि स्थान पाएको छ । सामाजिक संजालमा चर्को वहश उठेपछि दलित समुदायकै विधायक समेत रहेका काँग्रेस नेता मीनबहादुर बिश्वकर्माले यो मुद्दालाई संसदमा उठाएका हुन । विधायक विश्वकर्माले संसदमा गलबन्दी गीत, यसका कलाकार र सामाजिक संजालमा देखिएका विभेदयुक्त आरोपलाई समेत जोडेर संसदमा उठाएको मुद्दा यस्तो छ :

विगत केही दिनदेखि के बालक, के तरुण, के यवा, के वृद्धा सबैको मुखमा हरपल गुनगुनाइरहने धुन बनेको छ– गलबन्दी च्यातियो तिमीले तानेर।। । नेपाली सांगीतिक इतिहासमा यति छोटो समयमा डेढ करोड दर्शक बनाउनु चानचुने कुरा होइन ।

संसारभरि नेपाली मनले मात्रै होइन विदेशी मनले पनि यही धुन गुनगुनाइरहेका छन् । यसमा नेपालको मौलिक संस्कृतिलाई समृद्ध बनाउने कलाकार प्रकाश सपुत र शान्तिश्री परियारलाई हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्दछु । सरकारको सम्बन्धित निकायले उनीहरूलाई उच्च सम्मान गर्नुपर्नेमा सत्तारुढ दलकै भातृसंस्थामा आवद्ध कलाकार शम्भु राईले मेरो लय नक्कल गरेको भनी मुद्दा हालेछन् ।

हामीले ख्याल गर्नुपर्ने कुरा के भने लोकभाका भनेकै पूर्वजहरूले गाउँदै उनीहरूका अनुयायीले पछ्याउँदै पुस्तौंपुस्तासम्म जीवित राख्नु हो । एक दिन, एक पटक, एक कलाकारले कुनै एक समयमा गाएको, गाउने वा रेकर्ड गरिएको गीत लोकभाका हुन सक्दैन । गाउँघर, रोदीघर, रत्यौली वा मेलापातमा जाँदा स्वतःस्फूर्त रुपमा गाउने भाका नै लोकभाका हो । यो भाका न नक्कल हुन्छ, न चोरी गरिन्छ ।

यद्यपि प्रकाश सपुतले गाएको उक्त भाका कसैसँग मेल खाँदैन । शम्भु राईसँग मेल खाने त कुरै भएन । तर, विडम्बना एक सामान्य कलाकारले अति मन छुने स्वर, शैली र छायांकनसमेत गरी प्रस्तुत गरेको गीतमा एक फरक भूगोल, फरक परिवेश, फरक शैली र फरक कालखण्डमा उस्तैउस्तै गीत मैले पनि गाएको थिएँ । नक्कल भयो भनी मुद्दा हाल्न पुग्नु एक प्रतिष्ठित कलाकारका लागि लज्जाको विषय बन्नु पर्ने हो ।

तर, उल्टै शम्भु राई र उनका मतियारहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावका दृष्टिले अति नीच गालीगलौज गर्ने र उनलाई हतोत्साही बनाउन निरन्तर लागि परेको देखिन्छ । त्यतिमात्रै होइन, संविधान, कानून र सामाजिक सद्भावको बर्खिलाप हुने गरी सिंगो दलित समुदायलाई अपमानित हुने गरी उनीहरूमाथि नीच ढंगले जातीय भेदभाव र अपमान गरेको हुनाले साइबर कानून, जातीय छुवाछुट तथा कसूर सजायँ ऐन र संविधानको धारा २४ अन्तर्गत उनीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन माग गर्दछु ।

कमेन्ट गर्नुहोस्
Share: