सिक्लेस–कोरी केबुलकार सम्भाव्यता अध्ययन सम्पन्न

Share:

कास्की । कास्कीको मादी गाउँपालिकामा सिक्लेस–कोरी केबुलकारको निर्माण प्रक्रिया सुरु हुने भएको छ । गाउँपालिकाको केन्द्र याङजाकोटमा आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा केबुलकार निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा लिइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) जानकारी दिएका छन् ।

उनका अनुसार सिक्लेसको १ हजार ५ सय मिटरको उचाइ भुलकुचाबाट सुरु भई ३ हजार ८ सय मिटर उचाइको अन्नपूर्ण बेसक्यामस्थित कुरीमा केबुलकार सञ्चालन हुनेछ । चन्द्रागिरि केबुलकार टिमको सक्रियतामा निर्माण गरिने सिक्लेस–कोरी केबुलकार अन्तरगत समुद्री सतहबाट लगभग २ हजार ५ सय मिटरको उचाइमा चताखर्कामा १ सय २० बेड क्षमताको रिसोर्ट निर्माण गरिने बताइएको छ ।

विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) एवं वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य भइरहेको जानकारी दिँदै उनले यसको कूल लागत रु छ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । केबुलकारको १५ प्रतिशत शेयर स्थानीय बासिन्दालाई वितरण गरिने व्यवस्था मिलाइएको छ ।

अन्नपूर्ण हिमालको उच्च बुकेनीफाँटमा नेपालको मध्यविन्दु स्तम्भ उद्यानसमेत निर्माण गरिने लक्ष्य राखिएको उक्त केबुलकार चन्द्रागिरि समूहले निर्माण गर्ने भएको हो । नीति तथा कार्यक्रममा केबुलकारसँगै पर्यटनलाई गाउँपालिकाको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिइएको उल्लेख गर्दै उनले पर्यटकीय गन्तव्य विकासका लागि भौतिक संरचना निर्माणमा जोड दिइएको बताएका छन् ।

गाउँपालिका अन्तरगतका प्राकृतिक महत्वका स्थानहरुमध्ये होचो स्थानमा रहेको कपुचे हिमाल, कोरी, ठूलोलेक, क्होलासोँधर, दूधपोखरी, सवुपोखरी, कपुडाँडा, लम्तरीडाँडा, ताराहिलटप, नेपालको मध्यविन्दु लगायतका स्थानलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । अध्यक्ष गुरुङका अनुसार पालिकाको वडा नं ६ मा तप्राङ्ग वन्यजन्तु उद्यान निर्माण गर्नका लागि गुरुयोजना तयार गरी सङ्घ र प्रदेश सरकारको समन्वयमा जङ्गल सफारीका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ ।

अन्नपूर्ण राउण्ड सर्किटलाई पदयात्राको रूपमा विकास गर्नका लागि सिक्लेसदेखि मनाङको तिमाङसम्मको रुटमा आवश्यक पर्यटन पूर्वाधार निर्माण गरी यस क्षेत्रको प्रचारप्रसार एवं पर्यटन प्रवद्र्धन गरिने लक्ष्य नीति तथा कार्यक्रममा उल्लेख छ । मठमन्दिर तथा गुम्बा, कोइवुजस्ता धार्मिक पर्यटकीय क्षेत्रहरुको संरक्षण संवद्र्धनमा विशेष जोड दिइने उल्लेख गर्दै उनले स्थानीय मौलिक संस्कृति, भाषा एवं वेषभूषालाई यहाँको पर्यटन र उत्पादनसँग जोडेर विकास गरिने जानकारी दिएका छन् ।

स्थानीय, भाषा, वेषभूषा, कला संस्कृतिको संरक्षण गर्न गुरुङ जातिको तमु भाषाको पाठ्यक्रम तयार गर्ने नीति सम्भाव्यता अध्ययन सम्पन्न भई आगामी आर्थिक वर्षदेखि निर्माण प्रक्रिया सुरु गरिने भएको छ । पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्न गाउँपालिकास्तरीय पर्यटन गुरुयोजना निर्माण गर्नुका साथै पर्यटकीय पूर्वाधार निर्माणका लागि डिपिआर तयारी गर्ने एवं यस क्षेत्रको प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षहरुलाई समेटी डकुमेन्ट्री फिल्म निर्माण गरी पर्यटकीय सम्भावनाको प्रचारप्रसार, संरक्षण र प्रवद्र्धन गरिनेछ ।

गाउँपालिकालाई पर्यटनहवको रूपमा स्थापित गर्न सामुदायिक घरवासहरुको प्रवद्र्धन र संवद्र्धनका साथै यस क्षेत्रको सांस्कृतिक मौलिकताको पहिचानका र अतिथि देवो भवः मूलमन्त्रलाई अङ्गिकार गर्दै स्थानीय अग्र्यानिक परिकारका साथ आवश्यक नियमन गर्दै पर्यटन प्रवद्र्धन गर्न जोड दिइने बताइएको छ । उच्च हिमाली क्षेत्रमा निर्माण गरिएको केबुलकारसहित थप पर्यटकीय गन्तव्यले पर्यटन प्रवद्र्धनका साथै स्थानीयस्तरमा उल्लेख्यरूपमा जोरगार सिर्जना गर्ने नीति तथा कार्यक्रमको लक्ष्य रहेको छ । -रासस

कमेन्ट गर्नुहोस्
Share: