
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा युवतीमाथि श्रृंखलाबद्ध रुपमा सिरिन्ज आक्रमण गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट परिचालन भएको विशेष टोलीले ती युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की रहेको प्रहरीले जनाएको छ । उनलाई महाराजगञ्जको भाटभटेनी नजिकबाट गएराति साढे १२ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कार्कीले सिरिन्जले आक्रमण नगरेको दावी गरेका छन् । प्रहरीका अनुसार कार्कीले आनन्द लिनको लागि युवतीमाथि ढलान गर्ने किला प्रहार गर्ने गरेको बयान दिएका छन् । सिरिन्ज आक्रमणको अनुमान गरिए पनि कार्कीले सिरिन्ज नभएर ढलानको किलाले आक्रमण गरेको बयान दिएका हुन् । यसबारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय उपत्यकामा सिरिञ्ज जस्तो वस्तुबाट युवतीमाथि आक्रमण हुँदै आएको छ । अहिलेसम्म ५ जना युवतीहरुले आफूमाथि आक्रमण भएको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।
