
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १६औं संस्करण मंगलबार काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुँदैछ । खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान र्पुयाउने खेलाडी, प्रशिक्षक र संघसंस्थालाई यसपटक विभिन्न नौ विधामा अवार्ड प्रदान गरिँदै छ ।
यस वर्षदेखि एक जना अन्तर्रा्ष्ट्रिय खेल पत्रकारलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । अवार्डका लागि एसएमएस भोटिङका आधारमा चयन गरिने पिपल्स च्वाइस विधाको मनोनयनमा क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन छन्।
वर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा प्याराग्लाइडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई र जुडोका इन्द्रबहादुर श्रेष्ठ परेका छन्। वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्डका लागि फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ मनोनयनमा छन्।
यसैगरी वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मञ्जलीकुमारी योञ्जन र कराँतेका विजय श्रेष्ठ छन्। प्रशिक्षकमा प्याराग्लाइडिङका योगश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट, फुटबलका हरि खड्का मनोनयनमा छन्। यसैगरी लाइफ टाइम अचिभमेन्ट, पारा एथलिट, स्पेसल र टिम अफ दी इयर अवार्ड पनि मंगलबार नै प्रदान गरिनेछ।
वर्षको उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। महिला र पुरुष विजेताले टर्किस एयरलाइन्सको तर्फबाट खुला गन्तव्यको दुईतर्फी हवाई टिकट पनि पाउनेछन्। अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ र आकर्षक गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गर्नेछन्। पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ। अवार्डलाई किरण सु म्यानफ्याक्चररको मुख्य उत्पादन गोल्डस्टार (पावर्ड बाई) र डिस मिडिया नेटवर्क लिमिटेडले मुख्य सहप्रायोजन गरेको छ।
