
महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका ६ र ७ वडाका दुई घरमा बुधवार राति डकैती भएको छ । वडा नम्बर ६ का चन्देश्वर महतो र ७ का रामसुनार महतोको घरबाट करिब १५ लाखको धनमाल लुटेर डाँकाहरुले लगेका छन्।
करिब ९/१० जनाको समूहमा रहेका डाँकाहरु एक किलोमिटरको दुरीमा रहेको महतोद्धयको घरमा एकसाथ लुटपाट सुरु गरेका थिए।
डकैती गरेर भागिरहेका एक डाँकालाई स्थानीयले लखेटेर पक्राउ गरेका छन्।
लुटेर भाग्ने क्रममा बड्ही खोला नजिकैबाट सर्लाहीको चन्द्रपुर नगरपालिका घर भएका ४० वर्षीय देवनारायण कापडलाई स्थानीयले पक्राउ गरेको हो। कापडको साथबाट एक थान पेस्तोल समेत बरामद भएको छ। पक्राउ परेपछि कापडलाई स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएको छ । अहिले उनको उपचार बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा भइरहेको जनाइएको छ ।
घरधनी पनि घाइते
यस्तै लुटपाटमा अवरोध पुर्याएपछि डाँकाको समूहले महतोद्धय परिवारलाई समेत निर्घात कुटपिट गरेका छन्। पीडित परिवारका ५ जना घाइते भएका छन् ।
डाकाहरुको प्रतिकार गर्ने क्रममा घाईते भएकामध्ये घरमुली चन्देश्वर महतो र उनकी श्रीमती जेयवती देवी र छोरा वर्ष २७ का उमेश महतोको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै अन्य २ घाइतेहरुको बर्दिबासस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासले घटना विषयमा अनुसन्धान सुरु गरिएको र अन्य डाँकाहरु पनि चाँडै पक्राउ पर्ने जनाएको छ।
