
पोखरा । तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित तीन सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाउन लागिएको छ । डिभिजन वन कार्यालय तनहुँले मल्याङ, कवादी र सालडाँडा सामुदायिक वन क्षेत्रलाई समेटदै तेजपातको पकेट क्षेत्र बनाउन लागेको हो ।
बिना लगानी, थोरै मेहनत र छोटो अवधिमा राम्रो आम्दानी हुने भएकोले सामुदायिक वनलाई सवल र आत्मनिर्भर बनाउने उद्देश्यले यस क्षेत्रमा खाली रहेको जग्गामा तेजपात रोपेर पकेटक्षेत्र बनाउन लागिएको डिभिजन वन कार्यालय तनहुँका सहायक अधिकृत बाबुराम उप्रेतीले बताए ।गत वर्ष ११ हेक्टर क्षेत्रफलमा १७ हजार पाँच सय तेजपातको बिरुवा रोपिसकिएको डिभिजन वनका सहायक अधिकृत उप्रेतीले जानकारी दिए । “तेजपातको पकेट क्षेत्र बनाउने उद्देश्यअनुरुप यसवर्ष १० हेक्टर क्षेत्रफलमा १६ हजार बिरुवा लगाउने योजना रहेको छ”, उहाँले भने । तेजपातबाट हुने आम्दानी तीन वटै सामुदायिक वनले उपभोग गदै शतप्रतिशत आयआर्जन गर्न पाउने व्यवस्था मिलाइएको छ ।
वन कार्यालयले आफ्नै नर्सरीमा तयार गरेको तेजपातको बिरुवा सामुदायिक वनलाई प्रदान गरेको छ । साथै त्यसको उचित संरक्षण र संवद्र्धन गर्ने अधिकार पनि सामुदायिक वनलाई नै प्रदान गरिएको छ ।एउटा तेजपातको बिरुवाको बजार मूल्य रु १० पर्ने भए पनि डिभिजनले निःशुल्क रुपमा उपलव्ध गराएको छ । उत्पादन भएका तेजपातको कच्चा पदार्थलाई प्रशोधन गर्न शुक्लागण्डकी नगरपालिकामा रु २० लाखको लागतमा ‘प्रोसेसिङ युनिट मेसिन’ ल्याएर जडान गर्ने काम शुरु भइरहेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।
तीनदेखि चार वर्षको अवधिमा तेजपातको उत्पादन हुने भएकाले यसको कच्चा पदार्थ प्रशोधनको लागि नगरपालिकास्थित कृषि सहकारी संस्थाले चासो देखाएको वन कार्यालयले जनाएको छ ।उक्त सहकारीले समेत व्यावसायिक रुपमा तेजपात लगाएको छ । डिभिजन प्रमुख बरालका अनुसार सहकारी र सामुदायिक वनमा उत्पादन भएको तेजपात किनेर ‘प्लान्ट’ निर्माण गर्ने योजना बनाएको छ । प्रशोधित तेजपात जर्मन, इटली र स्वदेशका विभिन्न जडीबुटी कम्पनीमा माग रहेकोले बिक्रीको चिन्ता नरहेको बताइएको छ । साथै सहज रुपमा बाह्य मुलुकमा समेत निर्यात गर्न सकिने व्यवस्था गरिने जनाइएको छ । रासस
