
पोखरा । पोखरामा सङ्घीय स्वास्थ्य प्रणालीको पुनः संरचना विषयमा छलफल भएको छ ।
दुईदिने सम्मेलनमा जनस्वास्थ्यका प्राध्यापक, अनुसन्धानकर्ता एवं विज्ञबाट विभिन्न विषयमा प्रस्तुति भएको मंगलबार आयोजित पत्रकार भेटघाटमा सम्मेलन आयोजक समितिका अध्यक्ष सह प्राध्यापक डा.डमरुप्रसाद पनेरु जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा जनस्वास्थ्य विषयका प्राध्यापक शरदराज वन्तले ‘विश्व कार्ययोजना : स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य प्राप्तिको मार्ग’ विषयमा प्रस्तुति राखेका थिए ।
त्यस्तै प्राध्यापक डा. राजेन्द्रकुमार बिसीले तथ्य निर्माण प्रणाली र स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्यसम्बन्धी कार्यपत्र प्रस्तुत गरे । उपप्राध्यापक चिरञ्जीवी अधिकारीले सम्मेलनमा १६० जनाको सहभागिता रहेको जानकारी दिए ।
पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्काय तथा स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजको आयोजना एवं विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उक्त कार्यक्रम भएको थियो । सम्मेलनमा नसर्ने र सर्ने रोग, स्वास्थ्य र पोषण एवं स्वास्थ्य बीमा लगायतका सम्बन्धित विज्ञहरूले आआफ्ना धारणा राखेका थिए । रासस
