
काठमाडौं- बाल यौन दूराचारको अभियोग लागेका पिटर जोहन डालग्लिसलाई ९ सजाय सुनाइएको छ । काभ्रे जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको हो ।पिटर नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) तथा अफगानिस्तानस्थित युएन ह्याबिट्याटको कन्ट्री रिप्रेजेन्टेटिभ भइसकेका क्यानेडियन नागरिक हुन् ।
तत्कालिन समयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को पिल्लर ३ सम्हालेका कटवालको टोलीले पिटरलाई पक्राउ गरेको थियो। डिएसपी कवित कटवाल भन्छन्-युएनको विशिष्ट पदमा कार्य गरिसकेका व्यक्ति बाल यौन दुराचारमा संलग्न होलान् भनेर विश्वास समेत लागेको थिएन। तर, जब सीआईबीमा उजुरी पुग्यो तब हाम्रमे टोलीले पिटरमाथि निगरानी बढाउन थाल्यो।
कटवाल थप्छन्-अनुसन्धान गर्दै जाँदा पत्ता लाग्यो की पिटर त काभ्रेको कात्तिके देउराली भन्ने स्थानमा घर नै बनाएर नेपाली बालकमाथि यौन दुराचार गरिरहेका रहेछन्। कट्वालका अनुसार, एकजना पीडित बालकको बयानका आधारमा उनि विरुद्ध अनुसन्धान अघि बढेको थियो।
लगातार २१ दिन सम्म प्रहरी टोलीले पिटरबारे निगरानी राखेको थियो। यही क्रममा २०७४ साल चैत्र २४ गते राती पिटर २ जना बालकलाई लिएर जब उसको फार्म हाउसमा पुगे। लगत्तै उनको निगरानीमा रहेको सिआईबीको टोलीले पिटरमाथि एक्सन लियो र उनलाई पक्राउ गर्यो।
पिटर मात्र होइन बालयौन दुराचार सम्बन्धि अन्य ५ वटा ‘रेड’ समेत डिएसपी कटवालकै नेतृत्वमा भएको थियो। ती घटनामा ७ जना विदेशी नागरिक पक्राउ परेका छन्।
