
काठमाडौं । लगातारको वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका–३, भप्सी खोलामा रहेको पुल बाढीले बगाएको छ । बिहीबारदेखि लगातार परेको झरीका कारण आएको बाढीले शुक्रबार राति पुल बगाएको हो । बाढीले पुलको बीच भाग पूर्ण रुपमा बगाएको छ ।
पुल बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । सयौँ यात्रुहरु शुक्रबार रातिदेखि नै अलपत्र परेका छन् । कतिपय यात्रुहरु भने जोखिम मोलेर खोलाको बाढी तरेर वारपार गरिरहेको स्थानीयले जनाएका छन् ।
झरीका कारण महोत्तरीका धेरै ठाउँ जलमग्न भएका छन् । सयौँ बस बर्दिवास र गौशालामा अलपत्र परेको प्रहरीले जानकारी दिएको छ ।
लगातारको वर्षाका कारण आएको बाढीपहिरोले देशभरको जनजीवन प्रभावित बनेको छ । वर्षा अझैं दुई दिन भइरहने भन्दै जल तथा मौसम विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
