
अनुप पौडेल, पोखरा ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) समयमै हुने बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले चार महिनापछि नेपालमा हुने साग समयमै सक्ने चुनौती स्वीकार गरेर नेतृत्वमा आएको स्पष्ट पारे । जिम्मेवारी र दायित्वलाई सन्तुलन गरेर अगाडि बढ्ने उनको भनाइ छ ।
आउँदो असार ३० गते बैठक बसेर सागका लागि समिति बनाउने तयारी गरिएको उनले जानकारी दिए । वर्षा र चाडपर्वका समयमा प्रतियोगिता रहेको बताउँदै उनले त्यसलाई पूरा गर्न नसके पदबाट राजिनामा दिने बताए ।
समयमै सक्नुपर्ने दबाबसँगै भौतिक पूर्वाधारको गुणस्तरीयतामा ध्यान दिएको सदस्य सचिव सिलवालको भनाइ छ । ‘नैतिक रुपमा गर्छु भनेर आएको हुँ, गर्न सकिन भने मैले अरुलाई दोष लगाएर हुँदैन, जिम्मेवारी लिएपछि गर्नुपर्छ’ उनले भने, ‘गर्नुपर्छ भन्दैमा गुणस्तरीयतामा ध्यान नदिने भन्ने पक्षमा म छैन ।’
राष्ट्रिय खेलकुद परिषद्मा जागिर खानका लागि मात्र नभई काम गर्ने उद्देश्यले जिम्मेवारी लिएको उनले बताए । नेपाली खेलकुद विकासको जिम्मा पाएका उनले पोखरा रंगशाला भित्र बन्न लागेको फुटबल मैदान प्राकृतिक हुनुपर्नेमा जाड दिए ।
कृत्रिम मैदान बनाउने पक्षमा आफू नरहेको उनको भनाइ छ । ‘एन्फाको पनि पोजेटिभ छैन्, फेर्नुपर्छ भने फेर्नुपर्छ, पोखराको मैदान आर्टि्फिशियल हुनुहुँदैन’ उनले भने ।’ उनले केन्द्र, प्रदेश र स्थानीय तहको सरकारबीच समन्यव निकै फितलो भएको सुनाए । खेलाडीलाई गुणस्तरीय प्रशिक्षण दिन नसके त्यसअनुसार नतिजा आउन नसक्ने उनको भनाइ छ ।
क्रिकेट विवाद समाधान गर्न पहल सुरु
क्रिकेट विवाद समाधान गर्न आफूले पहल सुरु गरिसकेको उनले जानकारी दिए । ५ सदस्यीय समिति गठन गरिसकेको र छलफल पनि जारी रहेकाले क्रिकेटमा भइरहेको विवाद एक हप्ताभित्र चुरोमा पुर्याउन पहल भइरहेको उनले बताए ।
सदस्य सचिव सिलवालले क्रिकेट बिगार्ने हक कसैलाई नभएको र कसैले त्यस्तो गरेमा सार्वजानिक अपराधी घोषणा गर्ने स्पष्ट पारे ।
‘यदि कोही मान्छे सहमतिमा आउँदैन भने उसलाई क्रिकेट बिगार्ने हक छैन्’ सिलवालले भने, ‘त्यस्ता मान्छेलाई सार्वजानिक रुपमा अपराधी हुन् भनेर घोषणा गर्छु ।’ खेल क्षेत्रलाई बिगार्ने अधिकार कसैलाई नभएको बताएका उनले खेल क्षेत्र र खेलाडीको भविष्य सुधार गर्न हातेमालो गरेर अगाडि बढ्न आग्रह गरे ।
समिति गठनका विषयमा आन्तरिक विवाद चर्कंदै गएपछि अन्तराष्ट्रिय क्रिकेट परिषद आईसिसिले २०७३ सालमा नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो । तर, क्यानलाई निलम्बन गरेपनि नेपाली राष्ट्रिय क्रिकेट टोलीले भने अहिले आईसिसिकै व्यवस्थापनमा अन्तराष्ट्रिय प्रतियोगिताहरु खेलिरहेको छ ।
गएको असार ९ गते केशवकुमार बिष्टको ४ वर्षे कार्यकाल सकिएपछि रिक्त पदमा १८ औँ सदस्य सचिवका रूपमा सिलवाल नियुक्त भएका थिए।
File Photo
