
काठमाडौं । वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ६७ जनाको ज्यान गएको भएको छ । ज्यान जानेमा २६ महिला र ४१ जना पुरुष रहेका छन् । विपदमा परेर ४३ घाइते भएको र ३० जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
अहिलेसम्म झण्डै एक हजार ५ सय जनाको सकुशल उद्धार गरिएको छ । गृह मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढी मानिस विपदबाट प्रभावित भएका छन् ।
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण एक दर्जन बढी जिल्लाका सडक अवरुद्ध भएका छन् । मध्यपहाडी राजमार्ग, पूर्वपश्चिम राजमार्ग र कर्णाली राजमार्गमा यातायात ठप्प हुँदा यात्रुहरु मर्कामा परेका छन् ।
बुटवल–तानसेन सडकखण्ड ३ बजेसम्मका लागि बन्द
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्ड दिउँसो ३ बजेसम्मका लागि बन्द भएको छ । सडकखण्डको तिनाउँ गाउँपालिका ३ स्थित दोभान प्रहरी चौकीदेखि सिद्धबाबा हेडबक्स क्षेत्रको सडक छेउछाउका ढुङगा र पहिरो हटाउन बिहान १० बजेदेखि सडक बन्द गरिएको डिभिजन सडक कार्यालय पाल्पाले जानकारी दिएको छ ।
दिउँसो ३ बजेसम्म सडकमा जम्मा भएको पहिरो हटाउन सडक अवरुद्ध गरिएको र अहिले डोजर लगाई काम भइरहेको डिभिजन सडक कार्यालय सडक डिभिजन कार्यालयका प्रमुख प्रमुख ईन्जिनियर केदारप्रसाद नेपालले जानकारी दिएका छन् ।
सिद्धवाव क्षेत्रमा पहिरोका कारण हिजो पनि यस्तैगरी दिउँसोमा बन्द गरिएको थियो । सडक बन्द भएवपछि सिद्धवावामा सवारी साधन रोकिएका छन् ।

