
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीले नेता-नेतामा झगडा गराइदिएर दिमाग खराब गरिदिने गरेको बताएका छन्।
ललितपुर जिल्ला कमिटीलाई सपथ खुवाउँदै मंगलबार प्रचण्डले नेताका बीचमा झगडा गराउने होइन मिलाइदिने भूमिका खेल्न आग्रह गरे।
‘एउटा नेतालाई एउटा कुरा भनिदियो, अर्कोलाई अर्कै,’ उनले भने, ‘नेताका बीचमा झगडा लगाइदिने होइन मिलाइदिने भूमिका खेल्नेतिर तपाईंहरू अग्रसर हुनुस्। तपाईंहरू उपत्यकाभित्र हुनुहुन्छ तपाईंले देखाउने आचरण देशैभर देखिन्छ।’
प्रतिक्रियावादीले ‘फुटाऊ र शासन गर’ भनेजसरी नेताका बीचमा कुरा लगाइदिएर दिमाग खराब बनाएको उनको भनाइ छ।
‘प्रतिक्रियावादीहरूले नेता-नेताका बीचमा झगडा गराइदिने क्या,’ उनले भने, ‘एउटालाई एउटा कुरा अर्कोलाई अर्को कुरा भनिदियो दिमाग खराब गरिदियो।’ फुटाउन र शासन गर्न आफूहरूभन्दा प्रतिक्रियावादी सिपालु रहेको उनले बताए।
