कालीगण्डकी नदीमा सञ्चालित ‘स्टिमर’ सेवा तीन महिना बन्द, स्थानीयलाई समस्या

Share:

स्याङ्जा – बर्खा सुरु भएसँगै स्याङ्जाको कालीगण्डकी नदीमा सञ्चालित जल यातायात (स्टिमर सेवा) बन्द भएको छ ।

स्टिमर सेवा बन्द हुँदा यस क्षेत्रका जनता मर्कामा परेका छन् । जल यातायात बन्द हुनुका साथै ग्रामीण सडक अस्तव्यस्त हुँदा स्थानीयलाई समस्या भएको छ । नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतरा हुने भएपछि जल यातायात स्थगित गरिएको हो ।

यातायात सेवा स्थगित भएपछि स्याङ्जा, पर्वत र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा यातायातको सुविधाबाट वञ्चित भएको कालीगण्डकी जल यातायात समितिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिए । सो स्टिमर हरेक वर्ष वर्षाको समयमा तीन महिना बन्द हुने गरेको छ ।

स्टिमरबाट स्याङ्जा, पर्वत र गुल्मीका विभिन्न ठाँउका बासिन्दाले नौ महीनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्छन् । मिर्मीबाट दक्षिण पर्वतको बिहादी गाउँपालिका–६ सम्म जलयात्रा सञ्चालन हुँदै आएको छ ।

झण्डै आठ किलोमिटरको दूरीमा रहेको जल यातायात बन्द हुँदा दैनिक आधा घण्टामा सकिने यात्रा चार घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

स्थानीयले हिँउदको समयमा स्टिमरबाट सस्तो शुल्कमा मालसामान ढुवानी गर्ने गर्दथे । अहिले स्टिमर बन्द भएपछि स्थानीयवासीले खच्चडमार्फत महङ्गो शुल्कमा ढुवानी गर्न बाध्य भएका छन् ।

विसं २०५७ देखि सञ्चालनमा आएको स्टिमरबाट दैनिक एक हजारभन्दा बढी मानिस ओहोरदोहोर गर्ने गर्छन् । वर्षाको समय बाहेक अन्य समयमा समितिमार्फत् दैनिक १० वटा स्टिमर सञ्चालन गरिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: