नेकपाको सचिवालय बैठक बस्दै, एकीकरणको काम पूरा गर्ने विषयमा छलफल हुने

Share:

काठमाडौं । पार्टी एकीकरणको बाँकी काम पूरा गर्ने विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठकमा अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिका विषयमा छलफल हुने बताइएको छ ।

बैठकले शीर्ष नेताहरुको जिम्मेवारी बाँडफाँट टुंगो लगाउने सम्भावना छ । ओली र दाहालबीच पार्टीका विभागको नेतृत्वका विषयमा मौखिक सहमति भइसकेको छ । तर त्यसलाई सचिवालय बैठकमा पेश गरी ठोस निर्णय गर्नुपर्छ । दुई अध्यक्षबीच महत्वपूर्ण र शक्तिशाली मानिएको संगठन विभागको प्रमुख बामदेव गौतमलाई बनाउने सहमति छ ।

त्यस्तै विदेश विभागको नेतृत्व वरिष्ठ नेता माधव नेपाललाई दिने सहमति भएको छ । अर्को महत्वपूर्ण मानिएको स्कुल विभागको नेतृत्वको विषयमा भने अझै कुरा मिल्न सकेको छैन । स्कुल विभागको नेतृत्वका लागि ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले इच्छा देखाउँदै आएका छन् । यस विषयमा पनि आजै छलफल गरी टुंगो लगाउने तयारी बैठकले गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: