वीरगञ्ज । असुरक्षित गर्भपतन गराउँदा पर्सामा एक युवतीको मृत्यु भएको छ । भारतको रक्सौल गएर असुरक्षित गर्भपतन गराउँदा पर्साको पोखरिया नगरपालिका–६ कि २० वर्षीया सावित्रीकुमारी शर्माको मृत्यु भएको हो ।
गर्भपतनपछि अवस्था गम्भीर बनेपछि सावित्रीलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा असार २२ गते घटनाबारे थाहा पाएको प्रहरीले स्थानीय सिकेन्द्रप्रसाद चौहानलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता डीएसपी अनन्तराम शर्माले जानकारी दिए ।
सावित्रीको उपचारकै क्रममा साउन ३ गते मृत्यु भएको हो । हाल उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । प्रहरीले सिकेन्द्रलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ ।
नेपालमा सरकारले गर्भपतनका लागि सूचीकरण गरेको स्वास्थ्य संस्थामा महिलाको मन्जुरीमा दक्ष स्वास्थ्यकर्मी वा नर्सद्वारा १२ हप्तासम्मको गर्भ सुरक्षित तरिकाले गर्भपतन गर्न सकिने कानूनी व्यवस्था छ । तर तराईका सीमावर्ती क्षेत्रमा भारतमा गई असुरक्षित गर्भपतन गर्ने प्रचलनसमेत रहेको छ ।
