
काभ्रे। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीका किसानले प्रयोग गर्दै आएको सिँचाइ कुलो अविरल वर्षाका कारण माथिबाट गएको पहिरोले भत्किएको छ ।
एशियाली विकास बैंकको रु दुई करोड ४२ लाखको आर्थिक सहयोगमा पक्की निर्माण गरिएको सो सिँचाइ कुलो ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरी एक महीना अगाडिमात्रै उपभोक्ता समितिलाई जिम्मा लगाएको थियो ।
बेथानचोक गाउँपालिका–५ स्थितलड्कु खोलाबाट २०३९ सालदेखि नै त्यहाँका किसानले कुलो बनाएर सिँचाइ सुविधा उपभोग गर्दै आएका छन् ।
सात किलोमिटर टाढादेखि ल्याएको सो सिँचाइ कुलोबाट बल्थली भेगका एक हजार १७२ रोपनी जमीनमा सिँचाइ पुर्याइएको छ तर करीब दुई हप्ता अगाडिदेखि परेको अविरल वर्षाका कारण कुलोमाथिबाट गएको पहिरोले कुलो पुरिनुका साथै ठाउँ–ठाउँमा भत्किए पछि त्यहाँका किसान चिन्तित बनेका छन् ।
