
दमौली । तनहुँमा सवारी दुर्घटनामा परी एक वर्षमा ६१ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष ०७५÷७६ मा तनहुँको विभिन्न भागमा भएका १०६ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । आर्थिक वर्ष २०७४/७५ मा ११२ दुर्घटनामा ६५ जनाको मृत्यु भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार सवारी दुर्घटनाको सङ्ख्यामा यसवर्ष केही कमी आए पनि सन्तोषजनक भने छैन । अघिल्लो वर्षभन्दा गतवर्ष दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चारले कमी छ ।
दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गरिए पनि दुर्घटनाको क्रम नरोकिएको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए। उनका अनुसार विभिन्न दुर्घटनामा ११८ को स्थिति जटील र ७१ सामान्य घाइते भएका थिए ।
दुर्घटनामा परेका मोटरसाइकलको सङ्ख्या सबैभन्दा बढी छ । यस अवधिमा ६६ मोटरसाइकल, ३७ बस, १९ जीप तथा कार, ११ ट्रक। टिपर र नौ माइक्रोबस दुर्घटना भएको कार्यालयले जनाएको छ ।
तीव्र गति, खाल्डाखुल्डी सडक, पैदलयात्रीको लापरवाहीजस्ता कारणले सवारी दुर्घटना वृद्धि भएको ट्राफिक प्रमुख अधिकारीको भनाइ छ । “तीव्रगतिमा सवारी साधान चलाउने, एकअर्काबीच प्रतिस्पर्धा, सडकमा खाल्डाखुल्डीजस्ता कारणले सवारी दुर्घटना बढेको हो,” उनले भने, “सडक ठाउँ–ठाउँमा भत्किएको छ, समयमै मर्मत नगरिएकाले मोटरसाइकल र स्कुटर बढी मात्रामा दुर्घटनामा पर्ने गरेको हो ।” पृथ्वीराजमार्गको ७२ किलोमिटर भाग तनहुँ जिल्लामा पर्दछ ।
डेढ करोड राजश्व सङ्कलन
जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष ०७५÷७६मा सवारी साधानका चालकलाई गरेको कारवाहीमा रु एक करोड ६६ लाख ९४ हजार राजश्व सङ्कलन भएको छ । सो अवधिमा नियम उल्लङ्घन गरी चलाइएका २६ हजार ६४६ चालक कारबाहीमा परेका थिए ।
कार्यालयले आर्थिक वर्ष ०७४÷७५ मा सवारी कारवाहीबाट रु एक करोड ६९ लाख २६ हजार ५०० राजश्व सङ्कलन गरेको थियो । रासस
