
एजेन्सी – उत्तर कोरियाले रुसको एक जहाज कब्जामा लिएर त्यसका १७ कर्मचारीलाई हिरासतमा लिएको रुसी दूतावासले पुष्टि गरेको छ । प्रवेश नियमावली उल्लंघन गरेको भन्दै उत्तरले उक्त जहाज कब्जामा लिएको हो ।
पन्ध्रजना रुसी र दुईजना दक्षिण कोरियालीहरूलाई साउन १ गते नियन्त्रणमा लिइएको र अहिले उनीहरूलाई वोनसान शहरको एक होटलमा राखिएको छ ।
उक्त जहाज माछा मार्नका लागि उपयोग गरिने र त्यसको स्वामित्व नर्थईस्ट फिशरी कम्पनीमा रहेको रुसी दूतावासले जनाएको छ । सोमवार रुसका कन्सुलर अधिकारीहरूलाई जहाज कर्मचारीसँग भेटघाट गर्न दिइएको थियो । उनीहरू स्वस्थ रहेको अधिकारीहरूको भनाइ छ ।
रुसले उत्तर कोरियासँग निकट सम्बन्ध कायम गरेको छ र उससँग व्यापारिक साझेदारी गर्ने गरेको छ । दक्षिण कोरियाले उत्तरसँग तनाव घटाउन प्रयास गरेको भए पनि सउलको अनुमतिविना दक्षिण कोरियालीहरू उत्तर कोरिया जान प्रतिबन्ध छ ।
File photo
