दोर्दी खोलामा पानीको सतह घट्यो : वेपत्ताहरुको खोजी कार्य जारी

Share:

श्यामशितल परियार । लमजुङको दोर्दी खोलामा बुधबार दिउँसो एक्कासी आएको बाढीले बगाउँदा मृत्यू भएका चार जनाकै पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेका अनुसार दोर्दी खोलामा आएको बाढीले बगाउँदा पर्साका शिवधन चौधरी, डडेल्धुराका रमेश बुढा, सप्तरीका भुवनेश्वर चौधरी र बाराका सइद अन्सारी रहेका छन् ।

उनका अनुसार बाढीले बगाएर ज्यान गुमाएका चारै जना लिवर्टी इनर्जी हाइड्रोपावरका कामदार हुन् । शवलाई पोष्मार्टमका लागि जिल्ला सामुदायिक अस्पताल लमजुङमा राखिएको पाण्डेले जानकारी दिए ।

प्रहरीका अनुसार बाढीले बगाउँदा ६ जना बेपत्ता भएका छन् । उद्धार गरिएका ८ जनाको अहिले जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दोर्दीखोलाको मुहानतिर पहिरो गएर थुनिन गई एक्कासी बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । ‘यसको कारण यही हो भनेर पत्ता लगाउन सकिएको छैन,’ प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले भने ।

वेपत्ताहरुको खोजी कार्य भइरहेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए । ‘हिजो दिउँसो एक्कासी ठूलो बाढी आयो । बाढीले क्षति पुर्यायो,’ उनले भने, ‘अहिले खासै पानी परेको छैन । त्यसैले पनि खोलामा पानी सतह घटेको छ ।’

बिहानैदेखी वेपत्ता भएकाहरुको खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथमा स्थानीय र जनप्रतिनिधि पनि जुटिरहेका छन्। बाढीले दोर्दी करिडोरमा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाका महत्वपूर्ण सामानहरु बगाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: