
काठमाडौँ – देशभर सवारीसाधन दुर्घटनामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ मा देशभर सवारीसाधन दुर्घटनामा दुई हजार ७८९ जनाको मृत्यु भएको छ । सो अवधिमा १३ हजार ३६६ सवारीसाधन दुर्घटनामा परेका थिए ।
दुर्घटनामा चार हजार ३७६ जना गम्भीर घाइते तथा १० हजार ३६० व्यक्ति सामान्य घाइते भएका थिए । प्रहरी प्रवक्ता एवम प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार आव २०७४/७५ को तुलनामा आव २०७५÷७६ मा देशभर सवारीसाधन दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको छ ।
आव २०७४÷७५ मा नौ हजार ९८९ सवारीसाधन दुर्घटना हुँदा दुई हजार ३१८ जनाको मृत्यु भएको थियो । चालकको लापरवाही, यात्रुको गल्ती, उछिन्ने काम, तीव्रगति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गहरुङगो सामानका कारण बढी दुर्घटना हुने गरेको पोखरेलको भनाइ छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जीप, कार, ट्र्याक्टर र टेम्पो बढी दुर्घटना हुने गरेको छ ।
किन हुन्छ दुर्घटना ?
मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको छ। २५ प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको बताइन्छ ।
तीव्र गतिलाई कम गर्नसके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउन सक्ने प्रहरी अधिकारी बताउँछन् । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाखको हाराहारीमा सानाठूला सवारीसाधन सञ्चालनमा छन् ।
