
पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीका कार्यालय प्रमुखसहित ४ जनालाई घुससहित पक्राउ गरेको छ ।
पेश्की फछ्र्यौट गरिदिने बहानामा १ लाख ३० हजार रुपैयाँ घुस लिएका उनीहरु कार्यालय परिसरबाटै पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख एवं जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी रहेका छन् ।
पोखराबाट गएको टोलीले उनीहरुलाई आइतबार पक्राउ गरेको कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।
उनीहरुले कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रम बापतको पेश्की फछ्र्यौट गरिदिने बाहानामा सेवाग्राहीसँग घुस लिएका हुन् । उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
