एन्फा अध्यक्ष थापालाई कारवाही नगरेकोमा लेखा समितिको आपत्ति

Share:

काठमाडौं, असोज २७ – व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापासहितका पदाधिकारीलाई काम कारवाही गर्न नदिनका लागि आफूले दिएको निर्देशन कार्यान्वयन नगरेकामा आपत्ति जनाएको छ । लेखा समितिले सोमबार सिंहदरबारमा बसेको बैठकमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई बोलाएर निर्देशन कार्यान्वयन नगरेकामा आपत्ति जनाएको हो ।

लेखा समितिले एन्फामा ५८ करोड १७ लाख १२ हजार रुपैयाँ भ्रष्टाचार भएको भन्दै आर्थिक कारोबारमा संलग्न अध्यक्ष थापा लगायतका पदाधिकारीलाई काम कारवाही गर्न नदिन दुई साता पहिले युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको थियो । समितिको सोमबारको बैठकमा युवा तथा खेलकुदमन्त्री पौडेलले भने विश्व फुटबल महासंघ (फिफा) ले नेपाली फुटबललाई निलम्बन गर्न सक्ने भन्दै कारवाही नगर्ने आसय प्रकट गर्नुभयो ।

उहाँले समितिको निर्देशन पालना गर्न आफू प्रतिबद्ध रहेपनि एन्फाका पदाधिकारीलाई कामबाट वञ्चित गर्दा कतै नाइजेरियाको जस्तै अवस्था त हुने होइन भन्ने बारेमा सबै सचेत हुनुपर्ने बताउनुभयो । युवा तथा खेलकुदमन्त्री पौडेलले एन्फा अध्यक्ष थापा र अन्य पदाधिकारीलाई कारवाही नगर्ने आसय प्रकट गरेपछि समितिका सदस्यहरु मन्त्री पौडेलमाथि खनिएका थिए । राप्रपा र राप्रपा नेपाल बाहेकका सबै दलका सभासद समितिको निर्देशन कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएपछि समितिका सभापति जनार्दन शर्माले पनि निर्णय कार्यान्वयन गर्न आलटाल गरेकामा आपत्ति जनाउनुभयो ।

एन्फा अध्यक्ष गणेश थापाले आफूमाथिको कारवाही रोक्नका लागि खेलाडी, प्रशिक्षक र रेफ्रीलाई समेत अघि सार्नुभएको छ । राष्ट्रिय फुटबल टिमका कप्तान, प्रशिक्षक र रेफ्रीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर लेखा समितिको निर्णय बदनियतपूर्ण भएको भन्दै एन्फा अध्यक्ष थापामाथि कारवाही गरिए नेपाली फुटबल धरापमा पर्ने बताएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: