राष्ट्रिय एकल लोक नृत्यमा महिला तर्फ गण्डकीका बन्दना र पुरुषतर्फ कर्णालीका शेखर घर्ती मगर प्रथम

Share:

पोखरा । लोकस्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७३ औं जन्म जयन्तीको अवसरमा पोखरामा सम्पन्न राष्ट्रिय खुल्ला एकल लोकनृत्य प्रतियोगिता–२०७६ मा महिला तर्फ गण्डकीका बन्दना घर्ती मगर र पुरुषतर्फ कर्णालीका शेखर घर्ती मगर प्रथम भएका छन् ।

कल्याण शेरचन स्मृति प्रतिष्ठान र साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरद्वारा आयोजित प्रतियोगितामा प्रथम हुदै घर्तीमगरद्वयले जनही १ लाख, १ हजार, १११ रुपैया, ट्रफी, गिफ्ट ह्याम्परसहित एक वर्षका लागि साँस्कृतिक संस्थान राष्ट्रिय नाचमा एक वर्षका लागि रोजगारीको अवसर प्राप्त गरेका छन्।

प्रतियोगितामा महिलातर्फ प्रदेश नं.५ की अशु कुँवर र पुरुषतर्फ प्रदेश नं.१ का प्रितम सम्बाहाम्फे दोश्रो हुदै ५० हजार, ५१५ रुपैया, ट्रफी, गिफ्ट ह्याम्पर, महिलातर्फ प्रदेश नं. ३ की रबिता मगर र पुरुषतर्फ प्रदेश नं.५का दिलबहादुर सुनार तेश्रो घोषित हुदै २५ हजार, ५१५ रुपैया, ट्रफी, गिफ्ट ह्याम्पर र प्रतियोगितामा महिला तर्फ कर्णाली प्रदेशकी विपना मन्दिर मगर र पुरुषतर्फ गण्डकीका हिराबहादुर गुरुङले सान्त्वना स्थान हासिल गर्दै १५हजार, ५१५ रुपैया, ट्रफी, गिफ्ट ह्याम्परसहित पुरस्कृत भएका थिए । प्रतियोगितामा प्रदेशबाट छनौट भई गण्डकीबाट ४ जना र अन्य प्रदेशहरुबाट दुई दुई जना गरी १६ जनाले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा प्रतियोगीको रोजाई र निर्णायक राउण्ड गरी प्रतियोगीहरुले प्रस्तुती गरेका थिए।

यस्तै गरी प्रतियोगितामा प्रथम भएकी बन्दना घर्ती मगरका नृत्य निर्देशक सनबहादुर गुरुङ र अर्का प्रथम भएका शेखर घर्ती मगरका निर्देशक अनन्तराज तिमिल्सेना उत्कृष्ठ नृत्य निर्देशक घोषित हुदै जनही २५ हजार, ५१५ रुपैया, ट्रफी, गिफ्ट ह्याम्परसहित पुरस्कृत भएका छन् । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, साँस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापा, वरिष्ठ सँस्कृतिकर्मी चेतन कार्की, कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या. पुर्णबहादुर गुरुङ, प्रमुख संरक्षक सर्मिला शेरचन, संरक्षक नरबहादुर शेरचन लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको निर्णयको घोषणा निर्णायक समितिका मनकुमार श्रेष्ठले गरेका थिए । प्रतियोगितामा मुख्य निर्णायकहरुमा बरिष्ठ नृत्य निर्देशकद्वय मेनकाजी गुरुङ र रोचक थापा, निर्णायकहरुमा मनकुमार श्रेष्ठ (गण्डकी प्रदेश), नगेन्द्र राई (प्रदेश नं.१), सन्दीप मण्डल (प्रदेश नं.२), शारदा सिलवाल (प्रदेशनं.३),अनुरजक (प्रदेश नं.५),कुलमान नेपाली (कर्णाली प्रदेश) र सुनिल सुवेदी (सुदुर पश्चिम प्रदेश) रहेका थिए ।

कार्यक्रममा लोकनृत्यमा विशेष योगदान पुर्याएका बिराटनगर कटारी २ का वरिष्ठ लोक नृत्यकार प्रेमलाल परियार (सुनाम) लाई सम्मान गरिएको थियो। ५ दशकदेखि लोकनृत्यमा विशेष योगदान पुर्याउदै आएका सुनामलाई २५ हजार १ रुपैया ताम्रपत्र, दोसल्ला सहित सम्मान गरिएको हो।

कार्यक्रमको दीप प्रज्वलन गरी उद्घाटन गरेका प्रमृुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले हिमाल पहाडले मात्रै नभई लोक सँस्कृतिले नेपालको वास्तविक पहिचान गराउने बताए । लोक सँस्कृतिको सम्वृद्धि गराउन सके नेपालकै समृद्धि हुने भन्दै उनले सँस्कृति बुझ्न पुरै समय लगाउन पर्दछ छेउ टुप्पोकाहरु समाजसेवी बन्ने गरेको उनको भनाई थियो।

कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.पुर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षता र सचिव जीवन दाहालको सञ्चालनमा भएको कार्यक्रममा वरिष्ठ सँस्कृतिकर्मी चेतन कार्कीले शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रम संयोजक श्रीजंग गुरुङले कार्यक्रमको बारेमा, निर्णायक समितिका सदस्य मनकुमार श्रेष्ठले प्रतियोगिताका नियमबारे र साँस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगीहरुले कार्यक्रमबाट नेपाल लोक सँस्कृतिका बारेमा धेरै ज्ञान प्राप्त भएको र कार्यक्रम उदाहरणीय भएको बताएका थिए भने निर्णायकहरुले समेत कार्यक्रमबाट धेरै अनुभवहरु लिने अवसर प्राप्त भएको प्रतिक्रिया व्यक्त गरेका थिए। उक्त कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले नृत्य र गायक डबिन गुरुङ, लक्ष्मी नेपालीले गीत प्रस्तुत गरेका थिए ।

बि.सं. २००३ साल साउन १२ गते पोखरा ११ रानीपौवामा जन्म भइ २०६७ साल माघ २४ गते स्वर्गारोहण भएका लोकस्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको स्मृतिमा स्थापना गरिएको कल्याण शेरचन स्मृति प्रतिष्ठानले यस अघि साँस्कृतिक संस्थानकै सहकार्यमा २०७४ सालमा ७१ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय नाचघरमा राष्ट्रिय मादल बादन प्रतियोगिता, २०७५ साल साउन १२ गते ७२ औं जन्मजयन्तीमा सारङ्गी उत्सव भव्यताका साथ सम्पन्न गरिसकेको छ। यसरी नै सामाजिक, शैक्षिक, खेलकुद लगायतको क्षेत्रमा समेत प्रतिष्ठानले कार्यक्रम एवम योगदान पुर्याउदै आएको अध्यक्ष क्या. पुर्णबहादुर गुरुङ ह्योल्मोले बताए ।

कमेन्ट गर्नुहोस्
Share: