काबुल, असोज २८ – अफगानिस्तानमा तालिवानविरुद्ध त्यहाँका सुरक्षा निकायले जारी राखेका कारबाहीका क्रममा २६ तालिवानको मृत्यु भएको छ ।
गत २४ घण्टासम्म जारी रहेको सैनिक कारबाहीमा २६ जना तालिवान सशस्त्र लडाकूको मृत्यु भएको अफगानिस्तानको गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
अफगान राष्ट्रिय सुरक्षा बल (एएनएसएफ) अफगानिस्तानको कान्दाहार, पाक्टिया र कुनार सो जारी राखेका कारबाहीकमा २६ आतङ्ककारीको मृत्यु हुनुको साथै सात घाइते भएका र छ पक्राउ परेका गृह मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटो आबद्ध सबै देशले निर्णय गरिसकेका छन् । त्यसैले अफगानिस्तान सरकारले त्यहाँको सेना र प्रहरीलाई तालिवान विरुद्धको कारबाहीका लागि अघि सारेको छ ।
यस कारबाहीको क्रममा सुरक्षाबलले तालिवानहरूका साथबाट कयौँ शक्तिशाली हातहतियार कब्जा गरेको र सुरक्षाबलतर्फ भने कुनै हताहतको समाचार नभएको जनाइएको छ । तालिवानहरूले पछिल्लो समयमा कारबाहीलाई तीव्रता दिएका छन् । सोमबार उत्तरी प्रान्त सारी पुलमा सुरक्षाबल र आतङ्ककारीबीच भएको झडपमा २२ सुरक्षाकर्मीको मृत्यु भएको थियो । यस झडपमा अन्य २३ जना आतङ्ककारी पनि मारिएका थिए । यस्ता आक्रामक कारबाहीलाई मध्यनजर गरी सरकारी सेना र प्रहरीले पनि तालिवानमाथि जाइलाग्ने गरेका छन् ।

